मुख्यमन्त्री मुगुमाः रारा–गमगढी सडक प्राथमिकता, रारा तालको साइकल लेनबारे के भने?



मुगु । ७ दिने जिल्ला भ्रमणमा रहेका कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल बुधबार मुगु सदरमुकाम गमगढी पुगेर कार्यक्रम गरेका छन् ।

त्यहाँ सर्बदलिय बैठक बसेर समसामयिक विषयमा छलफल गरेका छन् ।

त्यस क्रममा कँडेलले प्रमुख पर्यटकीय गमगढीदेखी रारासम्मको सडकलाई स्तरोन्नतिसहित पक्की गर्न प्रदेश सरकारले प्राथमिकतामा राख्ने उनले बताए ।

पर्यकटीकय दृष्टिले कर्णालीकै प्रशस्त सम्भावना रहेको रारा जाने पहुँचमार्गलाई सहज बनाउन प्रदेश सरकारले विशेष प्राथमिकतामा राख्ने उनको भनाइ थियो ।

‘रारा पुगेपछि पर्यटकले जति आनन्द लिन सक्छन त्यतिनै पहुँच मार्गलाई सहज बनाउन प्रदेश सरकारको ध्यान जाने छ,’ उनले भने, ‘प्रदेश सरकारले रारामा पर्यटकलाई आर्कषित गर्न ताल वरिपरि ४५ करोडको लागतमा साइकल लेनको निर्माण गरिरहेको छ ।’

यो साइकल लेन यतिबेलासम्म बनिसक्नुपर्ने हो । यद्यपि ठेकदारको लापरबाहीका कारण अहिलेसम्म सम्पन्न हुन सकेको छैन ।

मुख्यमन्त्री कँडेलले त्यसलाई समयमै सम्पन्न गर्न स्थानीय राजनीतिक दलहरुले खबरदारी गर्न पनि सुझाव दिए ।

प्रदेश सरकारले रकम विनियोजन गरेपनि निर्माण व्यवसायीले समयमा काम सम्पन्न नगर्दा त्यसको अपजस सरकारले खेप्नुपरेको बताउँदै कँडेलले समयमा सम्पन्न गर्नेतर्फ खबरदारी गर्नुपर्ने बताए ।

मुगुको छायानाथ मन्दीर, चंखेली हिमाललाई पर्यटकीय दृष्टिले उत्कृष्ट बनाउन तथा जडीबुटीको सम्भावनालाई सदुपयोग गर्न सरकारलाई सुझाव दिन पनि उनले आग्रह गरे ।

आइतबार वीरेन्द्रनगरबाट जिल्ला भ्रमणका निस्किएका कँडेले कालिकोट हुँदै बुधबार मुगु पुगेका हुन् ।

निति निर्माण, योजना र बजेट निर्माणमा सन्दर्भमा जनस्तरमै छलफल गर्ने उद्देश्यसहित जिल्ला दौडाहामा रहेका कँडेलले जनप्रतिनिधिले पास गरेका बजेट कार्यान्वयन गर्ने कर्मचारी प्रशासनको धेरै महत्व हुने बताए ।

‘हिमाली जिल्लाहरुमा कर्मचारी आउन नमान्ने भएकाले पनि निर्णय भएको बजेट पनि कार्यान्वयनमा समस्या देखिएको छ,’ उनले भने, ‘कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज बनाउन र अभिप्रेरित गर्न स्थानीय राजनीतिक दलहरुले पनि ध्यान दिनुहोस् ।’

कँडेलले बिहीबार बिहान रारातालको भ्रमण गर्नेछन् भने त्यसपछि जुम्लामा कार्यक्रम गरेर शनिवार वीरेन्द्रनगर फर्कने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति : २०८१ मंसिर ५ गते बुधबार