
जुम्ला । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अब पार्टीका कमिटीहरुले विकास, समृद्धिको लागि काम गर्नुपर्ने बताएका छन् ।
नेकपा (एमाले) जिल्ला कमिटी जुम्लाले शनिवार जुम्लाको खलंगामा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा एमाले स्थायी कमिटि सदस्यसमेत रहेका कँडेलले बदलिएको राजनीति र कार्यभार अनुसार पार्टीका तल्ला कमिटीहरुले आ–आफ्नो क्षेत्रमा नवनिर्माणको पहलकर्ता बन्नुपर्ने बताएका हुन् ।
कँडेलले भने, ‘राज्यका आयोजना र स्रोत साधनको परिचालन राज्य संयन्त्रले गर्ने भएपनि ती आयोजनामा स्रोतसाधन परिचालन आवश्यक छ कि छैन वा ठिक ढंगले परिचालित भएका छन् वा छैनन् भन्ने विषयमा राजनीतिक दलका स्थानीय कमिटीहरुले खबरदारी गर्नुपर्ने हुन्छ ।’
योजनाको लागि सरकारले बजेट विनियोजन गरेपनि समयमा सम्पन्न हुन नसक्दा त्यसको गलत सन्देश प्रवाह भइरहेको उनले बताए ।
आयोजनालाई गुणस्तर बनाउन तथा समयमै सम्पन्न गर्न स्थानीय स्तरका पार्टी कमिटी तथा नेता कार्यकर्ताको भूमिका हुनेमा कँडेलले जोड दिए ।
आयोजना समयमै सम्पन्न हुन सके जनताले स्याबासी दिने हुँदा गाउँठाउँमा आएका आयोजनालाई गुणस्तरिय सहित समयमा सम्पन्न गर्न सक्रियता पूर्वक लाग्दा राजनीतिक रुपमा राम्रो सन्देश प्रवाह हुने उनको भनाइ थियो ।
मुलुक संघीय संरचनामा गईसकेपछि जनताको अपेक्षा धेरै भएकोले अपेक्षा अनुसार धेरै काम हुन नसकिएको कँडेलले बताए ।
उनले अगाडि थपे, ‘यद्यपि केही पनि नभएको जस्तो व्यवस्थाप्रति नै वितृष्णा जगाउने काम भइरहेको छ । उच्च ओहोदामा पुग्दा जनभावना अनुसार काम गर्नुपर्छ भन्ने कुरा मलाई राम्रोसँग हेक्का छ ।’
यही सोचेरनै जिल्ला तथा स्थानीय स्तरमै पुगेर समस्या र गुनासाहरु सुनिरहेको कँडेलको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्