
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) चलिरहँदा कुनै पनि प्रकारको आन्दोलन वा प्रदर्शन नगर्न दुर्गा प्रसाईंलगायत राजनीतिक तथा सामाजिक समूहलाई आग्रह गरेका छन्।
एनपीएलको तयारीबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पारसले यस प्रतियोगितालाई देशको प्रतिष्ठासँग जोडिएको महत्वपूर्ण अवसर भनेर वर्णन गर्दै आन्दोलनले प्रतियोगिता अवरुद्ध भए नेपाल अन्तर्राष्ट्रिय स्तरमा बदनाम हुने चेतावनी दिए।
उनले भने, “यो सामान्य प्रतियोगिता मात्र होइन। ८ टिम, ६०–६५ उत्कृष्ट विदेशी खेलाडी आउँदैछन्। सफलतापूर्वक सम्पन्न भयो भने नेपाललाई विश्वमाझ चिनाउने ठूलो मौका पाउँछौँ। त्यसैले अहिलेको साथ–सहयोगभन्दा माथि उठेर सकारात्मक वातावरण बनाइदिन सबैसँग अनुरोध छ।”
यदी कुनै पक्षले आन्दोलन गर्नै परे काठमाडौं बाहिर गर्न सकिने सुझाव पनि उनीले दिए। “यदि कसैको आन्दोलनको कार्यक्रम छ भने सके काठमाडौं बाहिर राखिदिनुहोस्। मंसिर १ देखि २७ सम्म हामी नेपाललाई विश्वमाझ प्रस्तुत गर्ने तयारीमा छौँ,” पारसको भनाइ थियो।
मंसिर १ गतेदेखि सुरु हुने एनपीएल–२ को बीचमै दुर्गा प्रसाईं (मंसिर ७) र एमाले (मंसिर ५) ले ठूला प्रदर्शन घोषणा गरिसकेकाले पारसको आग्रह स्पष्ट रूपमा ती कार्यक्रमलाई लक्षित गरिएको मानिन्छ।
क्यानले एनपीएललाई अब तकको सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिता बनाउन ‘सुरक्षित र स्थिर वातावरण’ आवश्यक भएको बताउँदै सबै पक्षलाई सहयोगका लागि आग्रह गरेको छ।









प्रतिक्रिया दिनुहोस्