
सुर्खेत, असार १५ (२०२६)। कर्णाली क्रिकेट कप २०२६ अन्तर्गत लिग चरणको रोमाञ्चक खेलमा दैलेखले सुर्खेतलाई ३ विकेटले पराजित गरेको छ। सुर्खेतले दिएको ८९ रनको सामान्य लक्ष्य दैलेखले ११.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्दै महत्वपूर्ण जित हात पारेको हो।
टस जितेर पहिले ब्याटिङ रोजेको सुर्खेतले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन। कप्तान मनिष थापाले २२ बलमा ४ चौकासहित सर्वाधिक २२ रन बनाए भने निश्चल रावलले ११ रनको योगदान दिए। अन्य ब्याटरहरू भने दैलेखका अनुशासित बलरहरूको दबाबमा टिक्न सकेनन् र टोली ११.५ ओभरमा ८८ रनमै अलआउट भयो।
दैलेखको जितमा प्रकाश शाही नायक बने। उनले ३ ओभरमा १८ रन मात्र खर्चेर ५ विकेट लिँदै सुर्खेतको ब्याटिङ लाइनअप ध्वस्त पारे। नबिन खडायतले ३ विकेट तथा मौसम थापाले १ विकेट लिए।
८९ रनको लक्ष्य पछ्याएको दैलेखले पनि सुरुवातमा केही विकेट गुमायो। राजेश खड्का १३ रन र कस्तुप खड्का १० रनमा आउट भए। त्यसपछि कप्तान हिमांशु शाहीले १६ बलमा ३ चौकासहित महत्वपूर्ण २२ रन बनाउँदै टोलीलाई जिततर्फ डोर्याए।
अन्तिम समयमा प्रकाश शाहीले ६ बलमा ११ रन तथा अविनाश हमालले २ बलमा अविजित ६ रन जोड्दै दैलेखलाई ११.५ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेटाउन सफल बनाए।
सुर्खेतका लागि सुरज बोहराले २ विकेट लिए भने विपीन प्रसाद शर्मा, कैलाश खड्का र प्रकाश जैसीले समान १–१ विकेट हात पारे। तर उनीहरूको प्रयास टोलीलाई हारबाट जोगाउन पर्याप्त हुन सकेन।
यस जितसँगै दैलेखले प्रतियोगितामा महत्वपूर्ण दुई अंक जोडेको छ भने प्रकाश शाही आफ्नो उत्कृष्ट अलराउन्ड प्रदर्शनका कारण खेलका प्रमुख आकर्षण बने।









प्रतिक्रिया दिनुहोस्