
जेलभित्रबाट उत्तरतिर हरियो घना जङ्गल थियो । त्यही जङ्गलको माथि थियो गढीको डाँडा । दक्षिणतिर अग्लो पर्खालले गर्दा हामीले वीरेन्द्रनगरको अन्य कुनै संरचना देख्न सक्दैनथ्यौं । त्यही हरियो डाँडा र आकाशमा उडेका पन्छी देख्न पाइन्थ्यो ।
हरेक दिन हामी सोच्ने गथ्र्यौ जेलबाट बाहिर निस्केर त्यो हरियो जङ्गलै–जङ्गल गढीको डाँडासम्म पुग्न पाए त्यही पन्छी जस्तै स्वतन्त्र हुने थियौँ । परिस्थिति त्यस्तो थिएन । जेल तोडेर निस्केका हामीलाई खोज्नको लागि तीन तीनवटा हेलिकप्टर परिचालन गरिएको थियो । यसले गर्दा हामीलाई थप गम्भीर बनाएको थियो ।
घोडाआँखेमा हामीलाई दिदी भिनाजुले खसी काटेर स्वागत गर्नुभएको थियो । दुई दिनको बसाइँ सकेर हामी उत्तरतिरको उकालै–उकालो बाटो लाग्यौँ । हाम्रो साथमा कमरेड अर्जुन थिए । सरल स्वभाव, मिठासपूर्ण बोली र आत्मविश्वासी कमरेड अर्जुनका कुराले हाम्रो टोलीलाई थप हौसला प्रदान गरेको थियो ।
मनले त उड्न सकिन्छ जस्तो लाग्थ्यो । हिरासतमा पाएको यातना र लामो समयको जेल बसाइँले उकालो चढ्न कठिन नै थियो । सबैभन्दा गाह्रो हुन सक्ने कमरेड लोकबहादुर चलाउने (बबर) थिए । उमेरले ५६ वर्ष भइसकेका । पहिलो गोली पड्किनासाथ टोली छोडेर अन्तै हिँडिसकेका थिए । वीरेन्द्रनगरको भूगोल बारेमा कुनै पनि जानकारी नभएका कमरेड बबर कता छुटे होलान् ? उनलाई खोज्ने समय पनि थिएन हामीसँग । बेलाबेला उकालो चढ्दै गर्दा हामीले सम्झिने गथ्र्यौ ।
डायरी १ः यो पनि.. सुर्खेत ‘जेल ब्रेक’ को इतिवृत्तान्त
हालको गुराँस गाउँपालिका अन्तर्गत पर्ने बेडुगाउँको डाँडा हुँदै हामी पातीकाँल्लाबाट माथि टोटापोखरा पुग्यौँ । जहाँ हाम्री आमाको जेठी दिदी र कान्छी बहिनीको घर थियो । त्यत्रो टोली लिएर हिँड्दा सुरक्षाका अनेक उपाय अपनाउनु पथ्र्यो । हामी यस्ता ठाउँहरू छनोट गथ्र्यौ जहाँ सुरक्षाको कुनै कमी नहोस् । सुरुमा त लाग्थ्यो गोठीकाँडाको डाँडा पुगेपछि हाम्रो यात्रा सकिनेछ । परिस्थिति त्यस्तो भएन । जति–जति हिँड्दै गयो झन् झन् अप्ठ्यारो परिस्थिति थपिँदै गयो ।
अर्को सम्भावित खतरायुक्त ठाउँ थियो दैलेख सुर्खेत सडक । त्यो पार नगरी हामी गन्तव्यमा पुग्नै सक्दैनथ्यौं । जब तालपोखरीबाट सडक पार गरेर हामी पूर्वतिर लाग्यौँ, अर्को एउटा सफलता हासिल गरेको अनुभूति भयो । किनकि हामीले गन्तव्य भेट्नु थियो । आधार इलाकामा पुग्नु थियो ।
पार्टी नेतृत्वलाई भेट्नु थियो । मेरो जीवनसाथी र कतिपय कमरेडका प्रियसीसँग मिलनको प्रतीक्षा थियो । जनमुक्ति सेनालाई भेट्नु थियो । कमरेड परिवर्तनको नेतृत्वमा भएको ४ नम्बर प्लाटुनलाई बिदाई गरेर आएपछि हामी जेल परेका थियौँ । तत्कालीन ४ नम्बर प्लाटुन भनेको भेरी कर्णाली क्षेत्रकै एउटा शक्तिशाली जनमुक्ति सेनाको दस्ता हो भन्ने बुझिन्थ्यो ।
हामी निस्कँदा त्यो प्लाटुन विकसित भएर बटालियन तहमा पुगिसकेको थियो । तैपनि हाम्रो दिमागमा त्यही ४ नम्बर प्लाटुन आइरहन्थ्यो । गोगनपानी, पिलाडी, लालीकाँडा, धरमपोखरी हुँदै हामी अवलचिङ् पुग्यौँ ।
अवलचिङ्बाट प्रहरी चौकी उठिसकेको थियो । त्यहाँ पुगेपछि विगतको स्मरण भयो । ०५६ साल असार २८ गते त्यही प्रहरी चौकीमाथि हामीले हमला गरेका थियौँ । त्यो लडाईँको अग्रभागमा लड्ने एउटा सिपाही म पनि थिएँ । रातभर हामीले भीषण हमला गरेका थियौं । जवाफी हमला भित्रबाट पनि भइरहेको थियो ।
अन्तमा माइनिङ गर्न जाँदा हाम्रै कमरेडहरू दुर्घटनामा परे । हामीले लडाई जितेनौं । कमरेड किरण, चेतन, निरन्तर र बुद्धि चपाई जस्ता होनहार कमाण्डर र योद्धाहरू गुमायौं । त्यही लडाईँको रातभर भएका गतिविधि मस्तिष्कमा सिनेमाको रील झैँ घुमिरहेका थिए । त्यहाँ लडाई भएको केही समयपछि उक्त प्रहरी चौकी खाली भइसकेको रहेछ । अवलचिङ् पुगेपछि हामीलाई बल्ल सुरक्षित स्थानमा पुगेको अनुभूति भएको थियो । ….
प्रतिक्रिया दिनुहोस्