
सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को रिक्त सदस्य–सचिव पदका लागि प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। खेलकुद प्रशासनमा अनुभव र संगठनात्मक क्षमता भएका विभिन्न व्यक्तिहरू प्रतिस्पर्धामा उत्रिएका छन्। तीमध्ये अनेरास्ववियुका पूर्व विद्यार्थी नेता गणेशबहादुर शाही प्रभावशाली र बलियो उम्मेदवारका रूपमा अगाडि देखिएका छन्।
खेलकुद संगठन, विद्यार्थी राजनीति तथा प्रशासनिक अनुभवको सन्तुलित पृष्ठभूमि बोकेका शाही हाल अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय उपाध्यक्षका आकांक्षी समेत हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन् भने उनी बक्सिङका खेलाडी समेत हुन्।
शाही करिब एक दशकदेखि मदन भण्डारी स्पोर्ट्स एकेडेमीमा आबद्ध रहँदै आएका छन्। पार्टीभित्र प्रभावशाली भूमिका निर्वाह गर्न सक्ने, पारदर्शी र निस्कलङ्क व्यक्तित्वका रूपमा चिनिएका शाहीले युवा तथा खेलकुद क्षेत्रमा प्रभावकारी नेतृत्व दिन सक्ने क्षमता राख्ने खेलकुदकर्मीहरूको बुझाइ छ।
प्रदेशमा यामलाल कँडेल र केन्द्रमा शंकर पोखरेल निकट मानिने शाहीको राजनीतिक पहुँच, संगठन क्षमता र युवा पुस्तामाझको लोकप्रियताले उनलाई अन्य उम्मेदवारभन्दा अघि राख्नुपर्ने खेलकुद वृत्तको धारणा छ।
सुर्खेतलाई केन्द्र बनाएर खेलकुद अभियान सञ्चालन गर्दै आएका शाहीले ग्रामीण तहसम्म खेलकुद पूर्वाधार विस्तार, प्रतिभा पहिचान र दिगो खेलकुद विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।
यस पदका लागि गणेश खनाल बिश्वमित्र सन्ज्याँल हेमा खड्का, प्रमोद हमाल लगायतका २२ जना बढी चर्चामा छन । तर समग्र मूल्याङ्कन गर्दा अनुभव, नेतृत्व क्षमता र राजनीतिक समन्वयका दृष्टिले गणेशबहादुर शाहीको दाबेदारी सबल देखिएको बताइएको छ।
अब कर्णाली प्रदेश खेलकुदको नेतृत्व कसको हातमा जाने भन्ने चासो बढ्दै गएको छ। अन्तिम निर्णयले प्रदेशको खेलकुदको दिशा र भविष्य निर्धारण गर्ने अपेक्षा गरिएको छ।









प्रतिक्रिया दिनुहोस्