कर्नाली नदीको मुल र कर्नाली सभ्यता !



 

अमृतजस्तै उम्र्याको छ, कर्नालीको पानी
खोज्यापई भेटिन्या रछ, सम्भयताको खानी ।
काग करायो किन ?
सत्य रैबार दिन ।
हामीले गाउँमा मूल पानी खान्थ्यौँ । घर नजिकै ग्वाली खोला थियो । घट्ट जाँदा पङ्खाबाट आउने गार (खोला) देखेको थिएँ । गार चाहिँ त्यो खोलाभन्दा धेरै ठूलो थियो । घट्ट घुमिरहेको थियो । म भने वर्षामासमा उर्लेर बगीरहेको गार हेरिरहेको थिएँ । उसको जवानी देखेर अचम्म लागेको थियो ।

केही वर्षपछि कर्नाली नदी देख्न पाएँ । यो त यति ठूलो देखियो कि हेर्दै डरलाग्दो, नीलो न नीलो । यो नीलो कसरी भयो ? मेरो जिज्ञासा थपिँदै गयो । आठ कक्षामा भूगोल विषय पढ्न पाइएको थियो ।

निकै मजा लागिरहेको थियो । तर कक्षा नौ पुगेपछि भूगोल र इतिहासमध्ये एक रोज्नु पर्ने भयो । मैले इतिहास रोजें । किनकि मलाई धेरै माया गर्ने विष्णुप्रसाद सोती सरले इतिहास पढाउनुहुन्थ्यो । इतिहासबाट विगतका धेरै प्रकारका घटनाक्रम जान्न पाइन्थ्यो ।

स्वअध्यनका क्रममा के थाहा भयो भने संसारको टाउको नेपालमै रहेछ । त्यो भूमि सगरमाथा हो । यही भूमिलाई केन्द्र बनाएर हेर्दा छ करोड वर्षअघि आजको मध्य भारतदेखि मध्य चीनसम्म टेथिस सागर रहेको पाइन्छ (योगी लगायत, २०७१, पृ. भूमिका) । त्यसको उत्तरी भागलाई लौरासिया र दक्षिणी भागलाई गोन्डवाना दीप भनिन्थ्यो ।

पृथ्वी उथलपुथल हुने क्रममा यी दुई दीप आपसमा मिल्न गएका थिए । कालान्तरमा उत्तरी भागलाई तिब्बतीयन प्लेट र दक्षिणी भागलाई इण्डियन प्लेट भन्न थालियो । यसको सीमारेखा सिन्धु र ब्रम्हपुत्र नदीले कोरेको मानिन्छ ।

वास्तवमा यी दुई प्लेटको ठोकाईबाट आजको अफगानिस्तानदेखि पाकिस्तान, भारत, चीन, नेपाल, भुटान र बर्मासम्मको हिमश्रृङ्खला निर्माण भएका हुन् । यसै हिमवत्खण्ड आसपास करिब दुई अर्ब जनसङ्ख्याको आवादी रहेको छ। नेपालको करिब ३५०० किलोमिटर हिमालय क्षेत्र यसैकारण फैलिन पाएको छ (प्रधान, २०७१, पृ. १६६–१७०) ।

तिब्बतीयन र भारतीय प्लेट सर्ने क्रम जारी छ । प्रत्येक वर्ष एक सेन्टिमिटर भारतीय प्लेट तिब्बतीयन प्लेटभित्र घुसिरहेको छ। यही क्रममा अग्लिएका हिमाल र पहाड विश्वकै आकर्षक गन्तव्य बनेका छन् ।

पूर्वीय दर्शनले कैलाश पर्वतलाई पृथ्वीको केन्द्र मानेको छ (रोकाया, २०६६, पृ. ६०–७०) । कैलाश पर्वतलाई प्रायःले शिवको पवित्र वासस्थानको रूपमा प्रतिकात्मक रूपमा मान्दै आएका छन् ।

कैलाश पर्वत यसरी प्रशिद्ध हुनुको कारण त्यस आसपासबाट चारवटा हिमनदीहरू अविरल रूपमा बग्छन् । ती हुन्, कर्नाली, ब्रम्हपुत्र, सतलज र सिन्धु । तिब्बती भाषामा कर्नालीलाई माप्चोचोगो र ब्रम्हपुत्रलाई यालुङ जाङ्बो भन्ने गरिन्छ ।

सिन्धु र सतलज कराँचीस्थित अरवी सागरमा मिसिन्छन्। कर्नाली र ब्रम्ह्मपुत्र पद्मामा मिसिएर कोलकोत्तास्थित बंगालको खाडी भएर समुन्द्रमा पुग्छन् । यो मिलन गंगा र जमुनाका रूपमा हुन्छ। गंगा फरक्कामा पुगेपछि दुईतिर बाँडिएको छ । फरक्काबाट गएको एउटा शाखा हुक्ली भएर समुन्द्रमा पुगेको छ ।

कर्नाली नदीको मूलबारे धेरैलाई भ्रम छ । कसैले यस नदीको मूल राक्षस ताल हो भन्ने गरेकाले कर्नाली क्षेत्र दुखिया क्षेत्र भएको रूपमा व्याख्या गरेको पाइन्छ ।

कतिपयले त्यो व्याख्याबाट अपमानित हुने भएकाले त्यसबाट बँच्नका लागि पवित्र मानसरोवर यस नदीको मूल हो भनी पुष्टि गर्न न्वारनदेखिको बल प्रयोग गरेको पाइन्छ। यी दुवै तर्क र तथ्य सही होइनन् ।

वास्तवमा समुन्द्र सतहबाट ३,९६२ मिटरको उचाईमा रहेको माप्चोचोङ्गो कर्नाली नदीको मूल हो । मेघ आलेहरूको अध्ययन समूहले पनि यसै कुराको पुष्टि गरेको छ ।

चिनियाँ भाषामा माप्चोचोङ्गो भन्नाले मयुरको मुख भन्ने हुन्छ । नेपालमा कर्नाली भनेर लेख्नेहरूले महाभारत कालका प्रमुख योद्धा कर्णले यस भागमा पनि विजय प्राप्त गरी राज्य करादीमा छोडेकाले ’कर्ण’ मा ’आली’ प्रत्यय लगाएर कर्नाली भन्ने गरेको पाइन्छ ।

हिमालय क्षेत्रबाट अविरल बग्ने नदी एकाएक नारा र लिमीको दुई ठूला कानजस्ता पहाड छिचोलेर बनाएको काननाली कालान्तरमा कन्नाली भन्न थालेको देखिन्छ ।

कर्नाली नदीको मूलबारे धेरैलाई भ्रम छ । कसैले यस नदीको मूल राक्षस ताल हो भन्ने गरेकाले कर्नाली क्षेत्र दुखिया क्षेत्र भएको रूपमा व्याख्या गरेको पाइन्छ ।

कर्नालजस्तो अवाज निकाल्दै करालो नालीमा हिमनदी बगेर आएकाले कर्नाली भन्न थालेको पाइन्छ । यस्तै करङजस्तै करालो भूमिमा प्राकृतिक नालीमा हिमनदी बगेकाले करङनाली भन्ने गरेको पाइन्छ। जे होस्, करालो भूमिमा बेजोडले अविरल रूपमा बगिरहने हिमनदीको नाम नै कर्नाली हो ।

कर्नालीको आसपास

वि.सं. २०५३ साउन २० गते लिपु भञ्ज्याङमा पुगेको थिएँ। टन्नै हिउँ थियो । यसै श्रृङ्खलामा मुल फुटेको माप्चोचोगो अर्थात् मयुरको मुख नै कर्नाली नदीको हो। यहाँ एउटा पहाडी थुम्को छ। त्यसै थुम्कोबाट पञ्च अमृत उम्रन्छ ।

वि.सं. २०७१ कात्तिक र २०७६ को भदौमा मानसरोवर जाँदा आउँदा कर्नालीको मूल र यस नदी आसपासको बस्तीबारे जानकारी लिने मौका मिल्यो ।

तिब्बतमा माप्चोचोङ्गो नदी आसपासमा रिङगुम, तोयो, ठिटी, बुराङ, कान्जी, खोच्यार र शेर नामका बस्ती छन् । यस क्षेत्रको सदरमुकाम बुराङ हो, जसलाई नेपालीले ताक्लाखार वा ताक्लाकोटको नामले चिन्ने गर्दछन् ।

पहिले ताक्ला नामको शासकले यसै कोटमा बसेर शासन गरेकाले ताक्ला बस्ने कोटबाट ताक्लाकोट भन्ने गरिएको देखिन्छ ।

ताक्लाकोट प्राचीन कालदेखि खाडी तथा भोट क्षेत्रको केन्द्र हो । यसै कोटमा ५ औँ दलाइ लामाको सट्टामा यहाँ आई पुगेका एकजना युद्ध सर्दारले पाप कटाउन निर्माण गरेको स्याक्पालिङ गुम्वा अपभ्रंश भएर शिम्विलिङ गुम्वाका नामले परिचित छ ।

यही गुम्बामा पच्चीस सय श्रीमती राख्ने भोटे राजा ग्याल्मु नोर्जाङको गुफा दरबार अझै छ । त्यसलाई आजकल ‘हिटुक ल्हामु गुम्बा’ भनेर चिनाउने गरिन्छ । यस गुम्बाको कहानी हुम्लाका भोट्याहरूले नाच्ने मानी नाचमा व्यक्त हुने गरेको पाइन्छ ।

यसैगरी यही बाटोमा पर्ने खोच्यार गुम्बा लोकप्रिय छ । सत्रौ शताब्दीमा यहाँ स्थानीय प्रमुखका रुपमा रहेका झम्पन थिए। उनले जुम्लाका राजा विक्रम शाहीको मैयाँ सुनकेस्रालाई अपहरण गरेका थिए । दुईपटक लडाइँ गर्दा पनि अपहरण मुक्त गर्न नसकेका शाही झण्डै पागल भएका थिए ।

अन्त्यमा रास्कोटी राजा साइमल शाहीको सुनकेशराको कहानी कर्नालीका दराहरुमा अझै सुन्न पाइन्छ । कथानुसार सुनकेस्राको कपालका रौ सुनको केस्रा थिए रे ! कर्नालीमा यस्तो कपाल भएकी केटी कसरी प्राप्त भइन् होला भन्ने सम्बन्धमा डा. अर्पणा पोखरेलले जनकलाल शर्मा र डा. माधव पोखरेलबीच भएको कुराकानीलाई आधार बनाएर लेखेकी छन् (पोखरेल, २०७८ असार २६) ।

उनका अनुसार बलिराजका छैटौं उत्तराधिकारी विक्रम शाहीको पालामा जुम्ला राज्य तत्कालीन रुसको कजाकस्तानसम्म विस्तार भएको थियो । उनी त्यहाँबाट फर्कंदा एउटी सुनौलो केश भएकी रुसी कन्यालाई ल्याएको र उनलाई जुम्लीहरूले सुनकेस्रा नाम राखेका थिए ।

हिल्साबाट ताक्लाकोट पुग्न २० कि.मि. लाग्छ भने त्यहाँबाट मानसरोवर ताल पुग्न ८० किलोमिटर पश्चिम उत्तरतिर लाग्नु पर्दछ । यसै बाटोको छेउमा पर्ने रिङ्गुम पाटनमा चिनियाँ सरकारले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न लागिरहेको छ ।

लङ्कारी ताललाई नेपालीमा ’राक्षस ताल’ र चिनियाँ भाषामा ’ल्हागा छो’ भन्ने गरिन्छ । तिब्बतमा मानसरोवर ताललाई ’युम्छो म्हावाङ’ भन्ने गरिन्छ । कैलाशलाई चिनियाँहरू ‘काङ रिम्पोछे’ भन्दछन् । चिनियाँ अधिकारी नुर्बु तन्जनका अनुसार मानसरोवर ताल ८० किलोमिटर गोलो र ६० मिटर गहिरो छ ।

मानसरोवरदेखि १५ किलोमिटर पश्चिममा कैलाश पर्वत रहेको छ । यहाँबाट तिब्बत प्रान्तको राजधानी ल्हासा ७९६ माइल (१२८१ कि.मी. ३७.८२४ मिटर) सडकबाट २६ घण्टा २७ मिनेटमा पुग्न सकिन्छ ।

लिपु लेक श्रृङ्खलामा उम्रेको माप्चोचोगोदेखि हिल्सासम्म डाँगे खोला, काजी खोला, खोच्यार खोला र शेर खोला मिसिन्छन् । चिनियाँहरूले शेर गाउँमुनी यसै नदीबाट जलविद्युत् निकालेका छन् । ताक्लाकोटमा लिफ्टिङ सिँचाइ गरिरहेका छन् । उनीहरूले पानीको महत्त्व बुझेका छन् । अझ भनौं, पानीको उपयोग गर्न जानेका छन् ।

माप्चोचोङ्गो नेपालमा पुगेपछि ’कर्नाली’का नामले प्रख्यात छ । हुम्ला उत्तर पश्चिमी क्षेत्र हिल्साबाट सुरु भएर बर्दियासम्म बग्ने नदीले कर्नाली सभ्यता निर्माण गरेको छ । यस नदीलाई विश्वमा पवित्र नदीका रूपमा लिने गरिन्छ । हुम्ला हिमाली जिल्ला हो ।

हिमालयको काखमा हुनाले हुम्लामा तुम्कोट खोला, मुचु खोला, याङ्गार खोला, याल्वाङ खोला, सल्ली खोला, केर्मी खोला, च्याछरा, गारपारी, हेप्का खोला, स्याँडा खोला, साँता खोला, स्याप्या खोला, नल्ला खोला, दोजाम नदी, याङ्चु खोला, कारङ्ग खोला, राया खोला, लाली खोला, सुनाखार खोला, रिप गार, उनापानी खोला, सर्क्यागार, कालागार, न्यासी खोला, लोती नदी, तुम्च खोला, गल्वागार, पुइमागार र कवाडी नदी मिसिन्छन् ।

लेखनमा ’गार’लाई ’गाड’ बनाएकाले सर्कीगारभन्दा तल गाड लेख्ने गरेको पाइन्छ । यो नदी सुरु हुने स्थान हुम्लाको हिल्सा हो । विगतमा हिल्सा सुनसान बगर थियो । वि.सं. २०६३ पछि मान्छेहरू बस्न थालेका हुन् ।

अहिले यो ठाउँ सीमा बजारको रूपमा विकसित भएको छ । हिल्सामा पानीको नौमुल निस्कन्छन् । प्राकः ऐतिहासिक कालमा देउताहरूले भोटको लडाइँबाट फर्कदा यसै भूमिमा बसेर हुम्लाका गाउँ ठाउँ भाग लगाएर आफ्नो थान अर्थात् मानु स्थापना गर्ने योजना बनाएका थिए ।

कैलाश पर्वतदेखि जैरसम्म एउटै लाइनको पहाड रहेकाले कर्नाली नदी जैरमुनीको सल्लीसल्लासम्म पूर्वतिर बगेको छ । त्यसपछि पश्चिम दक्षिण बगेको पाइन्छ। कर्नाली नदी आसपास तुम्कोट, मुचु, याङगार, याल्वाङ, केर्मी, खगालगाउँ, गारपारी, खोल्सी, धारापोरी, स्याँडा, साँता, याङ्गु, फया, नल्ला, छिप्रा, खर्यालगाउँ, याङ्चु, कारङ्ग, पिउस, लाली, राया, थाली, रिप, उनापानी, घिउसी, दुल्ली, मुन्डी, साँया, कल्प्याँ, मकै, तुम्च, गल्वा, दोमुख, पुइमा र कवाडीमा गाउँ बस्ती छन् ।

यस्तै कर्नाली नदीमा मुगु करान क्षेत्रबाट आएको मुगु कर्नाली, भींछरा, सुकाढिक खोला र खत्याड खोला मिसिन्छन् । बाजुरामा पुग्दा कर्नाली नदीमा रुगीन खोला, बोल्डिक खोला, बाँधु खोला, पिलु खोला र जुद्दी खोला मिसिन्छन् ।

कालिकोटमा फुगार, सान्नीगार, रुप्सागार, पाद्मगार, लालीघाट र जित्यागारमा जुम्लाबाट आएको तिला नदी मिसिन्छन् ।

दैलेखमा दही खोला, खिड्की ज्यूला खोला, राकम खोला, रामघाट खोला, पादुका खोला, लोहरे खोला, अछामको भानाकोट खोला, तालागार, तोसी धमारी खोला, चिसी खोला, कोलीमारा खोला, डोटीमा सेती नदी (चौलानी नदी) र सुर्खेत कुइने घाटमा डोल्पा, रुकुम, जाजरकोट र सल्यानबाट आएको भेरी नदी मिसिन्छ ।

यसरी अनकन्टार हिमाल र पहाड छिचोलेर तराई पुगेको कर्नाली नदी बर्दियामा पुग्दा बबई र सानीभेरी मिसिन्छ ।

सम्भावनाको ढोका

कर्नाली नदीका सात प्रमुख सहायक नदीहरू हुम्ला कर्नाली, मुगु कर्नाली, बुढीगङ्गा, तिला, सेती नदी, ठूली भेरी र सानी भेरी हुन् । कर्नाली नदी अविरल रूपमा बग्नुको कारण हुम्ला कर्नाली माप्चोचोङ्गोको मूल स्रोत लिपु हिमाल हो ।

मुगु कर्नालीको मूल नोत लखाप हिमाल हो । ठूली भेरीको मूल स्रोत मुकुट हिमाल हो । सानी भेरीको मूल स्रोत धौलागिरी हिमाल हो । सेती नदीको मूल स्रोत अपि हिमाल हो । तिला नदीको स्रोत पाताराशी हिमाल हो । बुढीगङ्गाको मूल स्रोत जसोतुल्ला हिमताल हो ।

नेपालको ५०७ किलोमिटर लामो कर्नाली नदीको ४९,००० वर्ग किलोमिटर जलप्रवाहित क्षेत्र रहेको छ । यस नदीको जलविद्युत् उत्पादन क्षमता ३२,००० मेगावाट रहेको मानिएको छ (नेपाल परिचय, २०७४) । पूर्व धौलागिरी हिमालदेखि पश्चिम व्यास हिमालसम्मको भू–क्षेत्र कर्नाली जलाधारका रूपमा लिने गरिन्छ ।

यस नदीमा आधारित भई फुकोट ४८० मेगावाट, माथिल्लो कर्नाली ९०० मेगावाट, वेतन कर्नाली ४४२ मेगावाट र कर्नाली चिसापानी १०,८०० मेगावाट जलविद्युत आयोजना निर्माण गर्ने गरी केही काम भइरहेका छन् ।

यसमध्ये चिसापानी विगत ३३ वर्षअघिदेखि र माथिल्लो कर्नाली १४ वर्षअघिदेखि छलफलमा आएको तर छिमेकी देश भारतका कारण कार्यान्वयन नभएका परियोजना हुन् ।

यी दुई परियोजनाले लामो कथा निर्माण गर्न थालेका छन् । तर यसो भइरहन दिनु हुँदैन । यस नदीमा संसारकै सबैभन्दा स्वादिस्ट असला, सट्टा, टोटे, खोली जस्ता माछा र दुर्लभ गोही, डल्फिन र पानी विराला भेटिन्छन् ।

यस नदीमा विश्वकै दोस्रो एक खम्बे सडक पुलका साथै कुइने, जङ्गलघाट, टटाली, डुङ्गेश्वर, टुनीवगर, राकम, खिड्की ज्यूला, लालीघाट, रेड्ङ्गिल, भात्तडी, कवाडी, भीइँ, तीर्थासैन, सल्लीसल्ला, सर्क्यागार, घिउसी, छार्या, खार्पु, नल्ला, फया, खोल्सी र याङ्गारमा पुल निर्माण भएका छन् ।

कर्नालीमा हुने याफ्टिङ र कायाकिङ विश्वकै उत्कृष्ट मानिन्छ । नदीमा आधारित उद्यमका सम्भावनाहरू अथाह छन् । तिनको पहिचान र परिचालन आजको आवश्यकता हो । यसमा रारा ताल, से–फोक्सुण्डो, स्यार्पु, कुपिण्डे, बुलबुले, दूधेदह र रानी सैनलगायतका करिब ५०० ताल तलैयाले पर्यटकीय महत्त्व बढाएका छन् ।

सभ्यताको सम्मान

कर्नाली नदीले कर्नाली सभ्यता निर्माण गरेको छ। यस पृष्ठभूमिमा नेपालको संविधान, २०७२ जारी गर्दा यस क्षेत्रले ६ नं. प्रदेशको रूपमा चिनिने मौका पाएको थियो ।

प्रदेश सरकारले कर्नाली नदीको यही महत्त्व बोध गरेर वि.सं. २०७४ फागुन १२ शनिबारका दिन आफ्नो प्रदेशको नाम ’कर्नाली’ नामकरण गरेको छ। त्यसैदिन सुर्खेत वीरेन्द्रनगरलाई ’प्रदेश राजधानी’ घोषणा गरिएको थियो ।

नेपालमा कर्नाली नदीले बनाएको पहिचान हामीले चिन्न सकेनौँ । यसको महिमा गाउन सकेनौं । यसको महत्त्व प्रयोगमा ल्याउन सकेनौं । अब समय खेर नफाली अगाडि बढ्नु पर्छ । प्रायः ले बलेको आगो ताप्ने गर्छन् ।

‘केही गरौं’ भनेर लाग्ने धर्ती पुत्र–पुत्रीले यसै माटोमा खटेर कर्नाली सभ्यताको उत्खनन् गर्ने बेला आएको छ। यसो गरेको खण्डमा ‘कर्नाली सभ्यता जिन्दावाद !’ भन्ने स्थिति बन्नेछ । कर्नाली नदीको मूलदेखि पुछारसम्म विभिन्न कामले हिँडेको छु । कहिले पैदल हिडें । कहिले मोटर चढें । कहिले चिलगाडी चढें, त कहिले मैदानी भागमा रेलगाडी चढें ।

जे होस्, हिमालमा जन्मेको मान्छे समुन्द्रतटसम्म पुगि छाडें । जुन दिन कर्नाली करिडोर चिनियाँ शिल्क रोडसँग जोडिएर निर्वाध रूपमा आवतजावत गर्ने अवस्था आउनेछ, त्यसपछि कैलाश जाने ऐतिहासिक बाटोघाटो (पोखरेल, २०७५ चैत २) बाट कर्नालीमा समृद्धि ल्याउने छ ।

कर्नाली नदी भारतमा पुगेपछि यसले ’घागरा’ नाम पाएको छ । त्यहाँ शारदा नदी मिसिन्छ । शारदालाई नेपालमा हुँदासम्म ’महाकाली’ भन्ने गर्दछौं । यस नदीको पनि शिरानदेखि पुछारसम्म पुगेको छु । भारतमा कर्नाली नदी घागरा र कौरियाला भएर दुईतिर बाँडिन्छन् । कौरियालाबाट बग्ने नदीले अयोध्या पुग्दा सर्जु नाम पाएको छ । यसको मूल प्रवाह घागडा भएर बग्छ ।

घागरा नदी विहारको छपरा जिल्लामा पुगेपछि गङ्गा नदीसँग मिसिन्छ । यसै नदीसँग नेपालका गण्डकी र कोशी नदी मिसिन्छन् । यसरी नेपालका सबै नदीनाला गङ्गाकै नामले पश्चिम बङ्गाल राज्यको कोलकोत्ता भएर समुन्द्र तटसम्म पुग्छन् ।

भारतीयहरूले गङ्गा सभ्यताको रूपमा मैदानी भागको मात्र चर्चा गरेको पाइन्छ । यद्यपि उनीहरूले हिमालय क्षेत्रलाई पवित्रस्थल मान्दै आएका छन् ।

कैलाश हिमालको दाहिने काखमा उम्रेको पानीले तिब्बतमा ’माप्चोचुड्गो’, नेपालमा ‘कर्नाली’ र भारतमा ‘घागडा’, कौरियाला र गङ्गा नदीका रूपमा पहिचान बनाएको पाइन्छ। एउटै नदीले यति धेरै नाम पाउनुको मूलकारण यसले हिमाल, पहाड र तराईमा छुट्टाछुट्टै सभ्यता निर्माण गर्नु हो ।

 

पानी चिन्तन
विद्धानहरू प्रथम र दोस्रो विश्वयुद्ध स्रोत, साधन कब्जा गर्न र साम्राज्य फैलाउनका लागि भएको थियो भने अब कथम् कदाचित तेस्रो विश्वयुद्ध भइहालेमा पानीको विषयमा हुने धारणा पेश गर्दछन् । २५८४ वर्ष पहिले लुम्बिनीमा जन्मेका सिदार्थ गौतमले रोहणी नदीको पानी विवादमा परी गृहत्याग गर्नुपरेको थियो ( शिवाकोटी, २०६७, पृ. ४२२–४२३)।

अहिलेसम्म वैज्ञानिक खोजले पत्ता लगाएको कुरा के हो भने पानी भएको ग्रह पृथ्वी मात्र हो । पृथ्वीमा ७१ प्रतिशत पानी छ । कूल पानीको ९७.५ प्रतिशत पानी समुन्द्रमा छ। विश्वमा प्रशान्त, आन्ध्र, हिन्द, कुमेरु र सुमेरु गरी पाँच महासागर छन् । यस्तै ठूला समुन्द्रमा साउथ चाइना, क्यारेबियन सागर, भू–मध्ये सागर, बोरिङ सागर र मेक्सिको खाडी रहेका छन् ।

यो पृथ्वीमा बाँकी २.५ प्रतिशत पानी स्वच्छ पानीको रूपमा पाइन्छ । यो स्वच्छ पानीको ६८.७ प्रतिशत भाग हिउँ र वरफको रूपमा रहेको छ । हामीले हिउँ र वरफको रूपमा रहेको पानीको खानी जोगाउन हिमाल तथा महाभारत श्रृङ्खला जोगाउन आवश्यक छ। हाम्रो सुख र समृद्धिको सालनाल पानीसँग जोडिएको छ। यसका लागि हरियो वनको विस्तार गर्नुपर्छ ।

हिमाललाई काला पत्थर देखिनबाट जोगाउनु पर्दछ। ’हिमाल र हरियो वन हाम्रो जीवन हो’ भन्ने ठानेर सबैले आफ्नो कर्म पद्धति बसाल्नु पर्दछ। त्यसपछि पानीजन्य उद्योगले हाम्रो नशा नशामा सिँचाइ गर्नेछ।

कैलाशदेई कर्नालीसम्म, कति माना पानी ?
जति सर्ग तारा होलान्, उति माना पानी ।

हिमालको पानी
दिँदैछ जवानी ।

रोकाया कर्णाली योजना आयोगका पुर्व सदस्य हुन् । उनले लेखेको ‘कर्नालीको मर्म’ पुस्तकबाट याे लेख लिइएको हो ।

प्रकाशित मिति : २०८१ असोज १७ गते बिहीबार