सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र युवालाई एकताबद्ध जीवनबहादुर शाही र यामलाल कडेलले गरे साझा अपिल



सुर्खेत । भ्रष्टाचार नियन्त्रण, सुशासन र स्थिर सरकारको मागसहित जेन–जी पुस्ताले गरेको प्रदर्शनपछि उत्पन्न तोडफोड र आगजनीका घटनामा हालसम्म ७० जनाभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् भने सयौं घाइते भएका छन्।

देशैभर फैलिएका आगजनी, हिंसा र लुटपाटका घटनाले मुलुक मर्माहत बनेको छ।
घटनामा मृत्यु हुनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। पीडित परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै नेताहरुले स्थिति नियन्त्रणमा लिन सरकार र सुरक्षा निकायलाई आग्रह गरेका छन्।

आयोजकको पूर्वघोषणा विपरीत सर्वोच्च अदालत, संघीय संसद, राष्ट्रपति भवन, ऐतिहासिक सिंहदरबार, प्रदेश सभा भवनलगायत सार्वजनिक, निजी तथा व्यावसायिक संरचनामाथि आगजनी र तोडफोड हुनु गम्भीर चिन्ताको विषय भएको भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुन बमोजिम कारबाही गर्न माग गरिएको छ।

युवा पुस्ता र आम नागरिकबीच बढिरहेको निराशालाई सम्बोधन गर्न राज्य संयन्त्र सक्षम हुनुपर्ने भन्दै नेताहरुले विगतका कमजोरी सच्याउँदै आत्मसमीक्षा गरेर भरोसा जगाउने आवश्यकता औंल्याएका छन्।

राष्ट्र, राष्ट्रियता र संघीय लोकतान्त्रिक गणतन्त्र गम्भीर चुनौतीमा परेको भन्दै नेपाली कांग्रेसका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही र नेकपा (एमाले) का मुख्यमन्त्री यामलाल कडेलले सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र युवालाई धैर्य रहँदै संवैधानिक तथा लोकतान्त्रिक मूल्य–मान्यताअनुसार थप एकताबद्ध हुन अपिल गरेका छन्।

अपिल

प्रकाशित मिति : २०८२ भदौ ३० गते सोमबार