ठाँटीकाँधका अनुदान शिक्षक आन्दोलित, असार ३ गतेदेखि विद्यालय अनिश्चितकालका लागि बन्द गरिने



सुर्खेत । ठाँटीकाँध गाउँपालिकामा गाउँपालिका अनुदानमा कार्यरत शिक्षक, कर्मचारी, बालविकास र कार्यालय सहयोगीहरुले लामो समयदेखि पारिश्रमिक र तलब भत्ता नपाएको भन्दै आन्दोलनको घोषणा गरेका छन्।

​’गाउँपालिका अनुदान शिक्षक संघर्ष समिति’ले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना मागहरू पूरा गराउन दबाब दिने उद्देश्यले असार ३ गतेदेखि गाउँपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरू अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको हो।

​विज्ञप्तिमा उल्लेख भए अनुसार, लामो समयदेखि रोकिएको तलब भत्ता भुक्तानीका लागि संघर्ष समितिले गाउँ कार्यपालिका र स्थानीय सरकारसँग पटक-पटक सहमति र सम्झौता गरेको थियो। तर, स्थानीय सरकारले उक्त सम्झौता कार्यान्वयन नगरी बेवास्ता गरेको र एक वर्षभन्दा बढी समयको पारिश्रमिक भुक्तानी नगरेको शिक्षकहरूको आरोप छ।
​त्यस्तै, आर्थिक वर्ष २०८३/०८४ को विनियोजित बजेटबाट समेत आफूहरूको पारिश्रमिकको विषयमा कुनै सुनुवाइ नगरी बेवास्ता गरिएको संघर्ष समितिले जनाएको छ।

​असार २ गते सञ्चालन भएको प्रधानाध्यापकहरूको बैठकको अवसर पारेर आन्दोलित पक्षले गाउँपालिका अनुदान शिक्षक कर्मचारी, निर्वाचित जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसँग संयुक्त बैठक बसी पारिश्रमिकका विषयमा छलफल गर्न खोजेका थिए। तर, सरोकारवाला पक्षबाट आलटाल गरी मागको सुनुवाइ नगरिएकाले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : २०८३ असार २ गते मंगलबार