कर्णालीको पूर्वाधारमा एक वर्षः २ अर्ब ५७ करोड खर्च, ७२ किलाेमिटर सडक कालोपत्रे र १३ पक्की पुल निर्माण



कर्णालीको मन्त्रिपरिषद् । फाईल तस्वीर

कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्ष २०८१/०८२ मा पूर्वाधार निर्माणमा कमजोर प्रगति गरेको छ ।

एक वर्षको अवधिमा २ अर्ब ५७ करोड ६६ लाख रुपैयाँभन्दा बढी बजेट खर्च गर्दै प्रदेश सरकारले न्यून मात्रामा सडक विकास गरेको हो ।

प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको तथ्यांकअनुसार, गत आर्थिक वर्षमा कुल ७२ किलोमिटर सडक कालोपत्रे गरिएको छ ।

९७.५९ किलोमिटर सडक ग्राभेल गरिएको छ भने गाउँ–बस्तीसम्म सडक सञ्जाल विस्तार गर्ने क्रममा ३१७.९ किलोमिटर नयाँ कच्ची सडक (ट्र्याक ओपन) खनिएको छ ।

यो बजेटमार्फत प्रदेशभर कुल ४२० वटा सडक योजनाहरू कार्यान्वयनमा ल्याइएको थियो । जसमध्ये सबैभन्दा बढी लाभ प्रदेश राजधानी रहेको सुर्खेत जिल्लाले पाएको छ ।

सुर्खेतमा मात्रै गत वर्ष करिब १९ किलोमिटर सडक कालोपत्रे भएको छ, जसमध्ये १२ किलोमिटर वीरेन्द्रनगरभित्रै निर्माण गरिएको हो ।

सडक निर्माणका साथै प्रदेश सरकारले पुल निर्माणमा पनि सफलता हासिल गरेको छ ।

गत आर्थिक वर्षमा मात्रै कर्णालीका विभिन्न खोला तथा नदीहरूमा १३ वटा पक्की पुल (सडक पुल) र नागरिकलाई आवतजावतमा सहज बनाउन ३४ वटा झोलुंगे पुल निर्माण सम्पन्न भएका छन् ।

प्रकाशित मिति : २०८२ साउन २२ गते बिहीबार