आठबिसबाट हुम्ला गएको जन्तमा चपाईएका मच्या–पाठाहरु



घोडामा बेहुला (बाँया)/दैलेखबाट हुम्ला गएको जन्तीहरु भोजन खाँदै (दाँया)

यो हाम्रा हजुरबुवाको अघिल्लो पुस्ताको पालाको कुरा हो । आफ्नो जातभित्रका ईष्टकुल बाट मात्र विहेवारी गर्ने समयको यथार्थ कथा हो ।

र, यो जनसंख्या पनि थोरै भएको र जात अनुसारका मानिसहरु भूगोलका आफ्नो पुख्र्यौली थातथलो र माटोमै रस्तीबस्ती बसाई बसीरहेको सामाजिक अवस्थाको चित्र हो ।

त्यो बेला दैलेख आठबिसको आग्र, तोलीपाटा, पाँचाला लगायतका ठकुरी गाउँहरुबाट हुम्लाको अहिलेको खार्पुनाथ क्षेत्रभित्रका ठकुरी बस्तीहरुमा सोलीडोली (विहेवारी) चल्ने गर्दथ्यो ।

यसैले यो हाम्रो कथा हो । यो हुम्लाका हाम्रा ईष्टहरु सँगको सदियौँ पुरानो परम्परागत सम्बन्ध र कुटुम्बचारको कस्तुराको बिना जस्तै मगमगाउने साईतर (किस्सा/कहानी) को विरासत हो ।

आग्रबाट अछाम, कालीकोट र मुगुका बिभिन्न गाउँबस्तीको हप्तौ लामे बाटोपार गर्दै डोला सहितको जन्त हुम्ला जाने भएछ ।

फागुनको महिना थियो । गराकान्लाहरुमा गहुँका बाला पहेल्पुर भएर झुल्ने बेला भएको थियो । गहँु काटनु अगाडी गाउँका लगभग सबै मानिसहरु फुर्सदिला थिए । विहेको लगन छिन्ने बेलामा ईष्टहरुमा एकापसमा हुम्ला जन्ती धेरै नलैजाने भन्ने सहमति भएको रहेछ ।

हुम्ला आफैमा चिसो ठाउँ । अनाज पनि धेरै नफल्ने । धेरै जन्ती आएमा उनीहरुलाई बसाउन र खानपान व्यवस्थापन गर्न पनि कठीनाई हुने थियो । जन्त लगनको दिनभन्दा केही दिन पहिले पुग्ने र विहेवारी सकिएर पनि केही दिन त्यही बस्ने चलन थियो ।

यसैले पनि थोरै जन्ती लिने ल्याउने भन्ने कुरामा सहमति भएको थियो होला । यता गाउँमा सबै फुर्सदिला थिए । विहेबाट फर्के पछि गहुँबाली तयार हुने अवस्थामा थियो । त्यसैले गाउँभरीका लक्का जवानहरु त्यो विहेमा जान तम्सिएका थिए ।

रित परम्परा अनुसार गाउँमा बसोबास भएका सबै जातबाट प्रतिनिधित्व गराउनै पर्ने चलन थियो । विहेको रित र कर्ममा जात अनुसारका कार्यहरु तोकिएको हुन्थ्यो । विहेको रित परम्परा अनुसार कामहरु गर्नका लागि सम्बन्धित जातबाट जन्ती जानै पर्दथ्यो ।

तोकिएको साईतमा लगन पैटाईयो । नरसिंहा फुकियो । ढोल र दमाहाको गुणी गुज्जो लाग्यो । सनई उरालिए । माङ्गलेरीहरुले माग लगाए । साईतको सगुन बाँडयो ।

निधारभरी दैचामल र पिठायो (बेसार र चामल एक साथपिंधेर बनाएको रंग)लगाईयो । जब बाजागाजा सहितको जन्त हिडन थाल्यो, तब जान सक्ने जती सबै जन्तको लस्करमा मिसिए ।

जन्त जाने भनि तोकिएका भन्दा अरु नै बढी जन्ती थपिए । कस्लाई रोक्नु, जान तम्सेका जती सबै जन्तको लस्करमा मिसिए । बाजागाजा सहितको लावालस्कर भएर औल बाट भोटतिर जन्त हिड्यो ।

हप्ता दिन लगाएर त्यो जन्त हुम्लाको सम्बन्धित गाउँको नजिक पुग्यो । जन्तआई पुग्यो कि पुगेन भनेर हेर्न आउनेहरुले जन्त र जन्तमा आएका जन्तीहरुको ठूलो संख्या अनि लस्कर देखे ।

अब उनीहरुसँगै दुई जना जन्ती ब्याउलीका घरतर्फ गए । सबै जन्तीहरुको कुशलक्षेम सोधापुछ भयो । खुसी साँटासाँट पनि । जब औलबाट आएका जन्तीको संख्याको कुरा आयो, तब हुम्लीहरु त रन्किदै फन्किएछन् । थोरै जन्ती ल्याउने सल्लाह हुँदाहुँदै गाउँ नै उल्ट्याएर जन्ती ल्याउने, हाम्मो ह्याँ अन्न फल्छ भनि हेप्न्या भनि नानाथरी कुरा सुनाए छन् ।

भतेर जन्त आउने भनी तोकिएका संख्याका जन्तीहरुका लागि मात्रै पाकेको थियो । औलबाट गाउँ नै उल्टीएर जन्तआयो । पकाएको खाना सबैलाई पुग्ने जति थिएन । त्यसैले ढिलासम्म पनि हुम्लीहरु जन्त पर्छाउन (स्वागत गर्न) गएन छन् ।

जे सुकै भएपनि ईष्टाचारको कुरा थियो । दाजुभाई खलक र बाणासौणा (छरछिमेक)का जेठाबुढाहरु जम्मा भई मतो (सल्लाह) गरेछन् । अब औल्यालको मेख (सेखी) मार्न पर्छ भनी प्रत्येक घरबाट जन्ती जतीलाई पुग्ने राशन, भेडा र मसला उठाए ।

आए जती जन्ती प्रत्येकका लागि एक माना चामल, तीन जनाका लागि एक भेडो, त्यही अनुसारको दाल, तरकारी, नून, मरमसला, भाँडाकुडा र दाउरा पानीको धारा नजिकको जन्ते गणामा जम्मा गरी सकेर जन्ती पर्छेर ल्याएछन् ।

जन्ती पर्छाउन्या रित सकेपछि ब्याउली तर्फका भलाद्मीले ब्याउलातर्फका भलाद्मीलाई ‘ईष्ट राजा औलतिर गाउँ उल्टी जन्ती आउन्या रित लाग्यो छ ह्याँ पनि जन्ती गनी जन्ती प्रत्ये अलग अलग भत्याण दिन्या चलन लगायाका छौँ, दियाको खर्च सबै खाई नसकी फाल्यापछि जन्ती औल फर्कन नदिकन गाउँका घेरामा राख्न्या छन् विचार गर्नुपर्ला’ भनेछन् र, भतेर लगाएको ठाउँ देखाउदै जन्तीलाई उतै लैजान भनेछन् ।

यसपछि जन्तीहरु भतेर गणातिर गएछन् । भित्तामा पानीको धारा भएको गह्राको बिचमा पकाउने खाने सामानहरु राखेर चारैतिर बाट गाउँलेहरुले जन्ती जतीलाई घेरा हालेछन । यो घेराको बिचमा बाँधिएका भेडाहरु पनि यो किसिमको तमासा बाट तर्सित भएर उर्फिदै कराई रहेका थिए ।

यो सबै देखेर जन्तीहरु आश्चर्य चकित भए । भए बिखलबन्द पनि । खाना यती धेरै थियो कि पकाएर खाई सक्ने स्थिति नै थिएन । पकाएर खान नसकि छोडमा औल फर्किन नपाउने उर्दी लगाई ईष्टहरुले घेराबन्दीमा हालिसकेका थिए ।

यो सबै सल्लाह भन्दा बढी जन्ती आएको हुनाले गरिएको हो भन्ने बुझेपछि जन्ती पक्षका भलाद्मीले पाका जन्तीहरुसंग सल्लाह गरेछन्—गजबको निर्णय भएछ । जे–जे चिज छ एक चोटीमा सबै मिलेर एक चिजखाने र क्रमशः सबै कुरा हुलमा लुछाचुँडी गर्दै एकापसमा दंगाफसाद (राम रमाईलो) गर्दै बेतोडले बाजागाज बजाउदै खाने भन्ने निर्णय भएछ ।

भात पकाउनलाई दिएका खड्कुलाहरुमा धाराको चिसो पानी भरिएछ । त्यो पानीमा जन्तलाई दिएको नुन, मच्या (खुर्सानी) र मरमसला मिसाएछन् । खुर्सानी बढी नै दिइएको रहेछ ।

सायद पिरोले जन्तीहरुलाई आपत पारोस भनेर पनि होला, लगत्तै जोसिलो ताल, लय र सुरमा भए भरका बाजाहरु बजाइए । ढोलहरु ठटाईए, नरसिंहाहरु फुकिए, सनाईहरु उरालिए ।

पाखुरा सुर्कीदै बाहुलीहरु जोडीए । पैतलाहरु उचालिए । पकाउनका लागि दिएको दाल, चामल, आलु लगायतको तरकारी हातहातमा लिएर फाँको हाल्दै जोसै जोसमा ढुट्याईयो ।

पिरो न पिरो हुम्ली मच्र्याको नुन, मसला सहितको पानीले भरिएका खडकुलाहरुमा जीउँदा भेडाहरु चोपल्दै बेतोड बाजागाजाहरुको जोसिलो सुर ताल संगै उचालिएका औल्याल पैताला र सुर्कीएका पाखुरीहरुले हातहातैले सग्ला भेडाहरु आकाशमा नचाउदै उफ्रिदै र उफार्दै लुछाचुड गरेरै सिध्याए ।

हुम्लीहरुको दसैँको ‘मच्यापाठो’ देखेका औल्यालहरुले यो तर्किब आज उनीहरुकै मेख मार्न प्रयोग गरे । पिउने पानीका लागि भरेर राखिएका हुन्ना, हत्तर र गाग्रीका पानीहरु ती अझंगका भाँडाहरु एकएकले हातहातैमा उचालेर गलो ठाडो पार्दै घुट्क्याएर सिध्याए ।

बाल्नका लागि दिएका दाउराहरु सरम (ढाल र तरबार हातमा लिएर दमाहाको तालमा खेलिने) खेलका तरबार बनाएर नचाउदै धुल्याए । अब त्यहाँ कतै अजाजको दाना, मासुको चोक्टो, तरकारी र दाउराका टुक्रा अनी भाँडामा पानीका घुट्काहरु बचेका थिएनन् ।

बिस्तारै बाजाहरुको ताल रोकियो । औल्यालहरुको रंगतमा शान्त भयो । न आगो बल्यो, न त भेडाहरु ढालिए, न त दाल भात पाक्यो । न त भतेर खाएपछिको मुख नै चुठियो । जब सबै सकियो तब मात्र त्यहाँको सुरताल शान्त भयो ।

अब त्यो जन्ते गणामा घुँडासम्म धसिने धुलो माटो, पकाउने भाँडाकुडा र रित्ता हुन्ना, हत्तर र जन्तीहरु मात्र थिए । अनि त्यहाँ थिए जन्तीलाई बाटुलो घेरा हाली उभिएका हुम्लीहरु—जो यो सबै तमासा हेरेर आश्चर्यले मुख बाउदै आँखा फ्टयाईरहेका थिए ।

एकछिनको सन्नाँटापछि जन्तीपक्षका भलाद्मीले नजिकैबाट यो सबै तमासा हेरी विश्मित अवस्थामा रहेका ब्याउली पक्षका भलाद्मीलाई ‘अब केही भन्नु छ की ईष्ट राजा’भनी सोधेछन्, तब झसंग हुँदै उनले ‘अब विवहा मण्डप तिरै जाउँ ईष्ट राजा’भनी भनेछन् ।

यस पछि त्यो रातीमा विधिवत् विवाह सम्पन्न भयो । विवहा भएको दुई दिनसम्म पनि त्यो जन्त त्यही गाउँमा बस्यो । जन्त गएका जन्तीहरुले त्यहाँ वरपर रहेका आफ्ना फुपु, आज्जु र बहिनीहरुसँग भेटघाट गरी औलबाट उनीहरुका लागि ल्याएको नासो दिए । र, भलाकुसारी गर्दै वर्षौँको स्नेह साँटासाँट गरे ।

त्यसैगरी त्यो जन्तमा औलबाट आएका त्यो गाउँका जुवाई चेलाहरुलाई आ–आफ्ना घरमा मान मनितो गर्दै उनीहरुसँग औल पोईल भएका आफ्ना छोरी चेलीहरुलाई सौबात, चिनार र नासोतुसी पठाए ।

विवाह सकिएको तेस्रो दिनमा हुम्लीहरुले आफ्ना छोरी जुवाईलाई हुम्ली लिउ, चमर, छाला, दन र घोडा समेत दाईजो दिएर सबै जन्तीहरुलाई चन्नी (निधार) छोपिने गरी दैचामल (गाढा बाक्लो दहीमा मुछेको रातो मार्सी चामलको टीका) लगाउदै हर्षका आँसु बगाउदै बिदावारी गरे ।

खार्पुनाथका घण्टहरुको आवाज सुनिएसम्म र टाँगाहरुमा फर्फराई रहेका ध्वजापर्गलाहरु देखिएसम्म अनि  आफ्नाहरुले हल्लाई रहेका बिदाईका हात र ठिटुवाका फुर्काहरु देखिने बेलासम्म डोलिमाथि छोपिएको रातो बसमबाट अनुहार निकालेर आफ्नो जन्मथलो छोडेर कर्मथलो जाँदै गरेकी ब्याउलीले पनि भक्कानिएर रुँदै डौठोको एक फेर हल्लाउदै बिदा मागिरहिन् ।

लेखक शाही, कर्णालीको लोक जीवन, परम्परा, संस्कृति र व्यवहारको खोज तथा अध्ययनमा रुची राख्दछन् ।

प्रकाशित मिति : २०८१ कात्तिक ३ गते शनिबार