अब सिसिटिभीको निगरानीमा वीरेन्द्रनगर, निःशुल्क वाईफाईको सुविधा



कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यले नगरका ३५५ स्थानमा अत्याधुनिक सिसिटिभी क्यामेरा जडान गरिने भएको छ ।

नगरलाई चौबिसै घण्टा निगरानीमा राख्दै अपराध नियन्त्रण र ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन वीरेन्द्रनगर नगरपालिका, नेपाल टेलिकम र जिल्ला प्रहरी कार्यालय, सुर्खेतबीच त्रिपक्षीय समझदारी भएको हो ।

बिहीबार नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रममा नगर–प्रमुख मोहनमाया ढकाल, नेपाल टेलिकमका प्रादेशिक निर्देशक डा. कमल लामिछाने र सुर्खेतका प्रहरी प्रमुख (एसपी) सुधीरराज शाहीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

नगरप्रमुख ढकालका अनुसार यो कदमले नगर क्षेत्रमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न मात्र नभई वीरेन्द्रनगरलाई ‘डिजिटल नगरपालिका’ का रूपमा विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ । समझदारीअनुसार सिसिटिभी जडान कार्य दुई चरणमा सम्पन्न गरिने छ ।

पहिलो चरणः आगामी ६ महिनाभित्र नगरका १०५ वटा अति संवेदनशील र मुख्य स्थानमा क्यामेरा जडान गरिनेछ, जसका लागि नगरपालिकाले ११ लाख ६९ हजार ५०० रुपैयाँ व्यहोर्नेछ । दोस्रो चरणः बाँकी २५० वटा क्यामेरा चालु आर्थिक वर्षभित्रै जडान गरिनेछ, जसको सम्पूर्ण लागत पनि नगरपालिकाले नै व्यहोर्ने छ ।

नगरका वडा नम्बर १ देखि १४ सम्मका मुख्य बजार, राजमार्ग, पर्यटकीय स्थल, सरकारी कार्यालय र सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिएका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ।

कसको जिम्मेवारी के ?

‘गभर्मेन्ट टु गभर्मेन्ट’ मोडेलमा सञ्चालन हुने यो परियोजनामा तीनवटै निकायको भूमिका स्पष्ट पारिएको छः

वीरेन्द्रनगर नगरपालिकाः परियोजनाको सम्पूर्ण आर्थिक भार र भौतिक पूर्वाधार (क्यामेरा, पोल, पावर सप्लाई, भण्डारण) को व्यवस्थापन गर्ने छ ।

नेपाल टेलिकमः अत्याधुनिक अप्टिकल फाइबर नेटवर्क उपलब्ध गराई सिसिटिभीलाई केन्द्रीय नियन्त्रण कक्षसँग जोड्ने प्राविधिक सहयोग गर्ने छ ।

जिल्ला प्रहरी कार्यालय, सुर्खेतः रणनीतिक स्थान पहिचान, जडानपछि चौबीसै घण्टा निगरानी र अपराध अनुसन्धानमा फुटेजको प्रयोग गर्ने छ । फुटेजको गोपनीयता र सुरक्षाको जिम्मा भने नगरपालिका र प्रहरीको संयुक्त हुने छ ।

सिसिटिभीसँगै निःशुल्क वाईफाईको सुविधा

सिसिटिभी जडानसँगै नगरका केही महत्त्वपूर्ण सार्वजनिक स्थानमा निःशुल्क वाईफाई ‘हटस्पट’ पनि निर्माण गरिने भएको छ । यसका लागि इन्टरनेट प्याकेजको खर्च नगरपालिकाले र फाइबर कनेक्टिभिटी नेपाल टेलिकमले उपलब्ध गराउने छ ।

यो बृहत् परियोजनाको सफल कार्यान्वयनपछि वीरेन्द्रनगरको ट्राफिक व्यवस्थापन, अपराध नियन्त्रण र सार्वजनिक सुरक्षामा उल्लेख्य सुधार आउने विश्वास लिइएको छ ।

नगरप्रमुख ढकालले यो कार्यले कर्णाली प्रदेशको राजधानीलाई एक आधुनिक, सुरक्षित र प्रविधिमैत्री सहरका रूपमा स्थापित गर्न कोशेढुङ्गा सावित हुने बताइन् ।

प्रकाशित मिति : २०८२ साउन १६ गते शुक्रबार