विद्रोहीको सामना गर्न नसकेपछि देश छाडेर भागे सिरियाका राष्ट्रपति



विद्रोहीको सामना गर्न नसकेपछि देश छाडेर भागेका सिरियाका राष्ट्रपति बसर अल असद रूसको राजधानी मस्को पुगेका छन् । रूसी सरकारी समाचार एजेन्सीहरूले बसर अल असद परिवारसहित मस्को आएको जनाएका हुन् ।

मिडिया रिपोर्टका अनुसार सिरियाका राष्ट्रपति असदलाई रूसले शरण दिएको छ । असद र उनको परिवारका सदस्यलाई ‘मानवीय दृष्टिकोण’का आधारमा रूसले शरण प्रदान गरेको स्रोतलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।

बीबीसीले भने असद मस्कोमा रहेको रिपोर्टहरू सार्वजनिक भइरहे पनि आफूहरूले त्यसलाई पुष्टि गर्न नसकेको जनाएको छ ।
विद्रोही समूह हयात तहरिर अल शाम (एचटीएएस) आइतबार देशका प्रमुख शहर कब्जा गर्दै राजधानी प्रवेश गरेपछि असदले राजधानी छाडेका थिए ।

तर उनी परिवारसहित कहाँ गए भन्ने खुलेको थिएन । कतिपयले असद चढेको प्लेन दुर्घटना भएको अफवाह फैलाएका थिए ।

बसर अल असद २४ वर्षदेखि सिरियाको सत्तामा थिए । असद परिवारको शासन भने ५० वर्षसम्म चलेको थियो ।

सिरियामा सन् २०११ मा राष्ट्रपति असद विरुद्ध सुरु भएको शान्तिपूर्ण र लोकतन्त्र समर्थित एक विद्रोह गृहयुद्धमा परिणत भएको थियोे । यो लडाइँमा पाँच लाख भन्दा बढीको मृत्यु भइसकेको छ । एक करोड २० लाखभन्दा धेरै व्यक्ति विस्थापित भएका छन् । तीमध्ये करिब ५० लाख जना शरणार्थी बनेका छन् ।

सन् २०११ मा राष्ट्रपति बसर अल असदविरुद्ध शान्तिपूर्ण विरोध सुरु भएको थियो । लोकतन्त्र समर्थकहरुको यही विरोध पछि गृहयुद्धमा परिणत भयो ।

यो गृहयुद्धमा सिरिया मात्रै होइन, क्षेत्रीय र विश्वका अन्य शक्ति राष्ट्रहरु पनि जोडिए । रुस, इरान र इरान समर्थित मिलिसिया सिरियाको पक्षमा र अमेरिका विद्रोही एचटिएसको पक्षमा थिए ।

त्यसबेलादेखि हालसम्म युद्धमा पाँच लाखभन्दा बढी मारिइसकेका छन् भने एक करोड २० लाख जना विस्थापित भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार विद्रोही समूह एचटीएसका प्रमुख अबु मोहम्मद अल जुलानी हुन् । अमेरिकाले उनको टाउकोको मूल्य एक करोड डलर तोकेको थियो । उनीमाथि मानवअधिकार उल्लंघनको आरोप छ । तर उनी विश्व सामु आफूलाई उदारवादी नेताको रुपमा चिनाउन खोज्छन् ।

 

एजेन्सि

प्रकाशित मिति : २०८१ मंसिर २४ गते सोमबार