कर्णालीबारे नकरात्मक चर्चा हुन थाल्यो, सम्भावनाको क्षेत्र होः मुख्यमन्त्री कँडेल



सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली सम्भावनाको क्षेत्र भएपनि नकरात्मक कुराहरुको मात्रै बढी चर्चा हुने गरेको बताएका छन् ।

कर्णालीको समृद्विले मुलुककै अर्थतन्त्रलाई योगदान दिने उनको भनाइ छ ।

लगानी बोर्डले बुधबार वीरेन्द्रनगरमा गरेको प्रादेशिक छलफल कार्यक्रममा कँडेलले मुलुकमा कतै नभएका सम्भावना कर्णालीमा रहेको बताउँदै कर्णालीको समृद्विले मुलुकै अर्थतन्त्रलाई माथि उठाउने बताएका हुन् ।

कर्णाली प्रदेश सबैभन्दा योगदान दिने प्रदेशको रूपमा स्थापित हुने दाबी पनि उनले गरे । कृषि, पर्यटन, जलविद्युत् र वन जस्ता प्राकृतिक साधन स्रोतले कर्णाली धनी रहेपनि पूर्वाधारको अभावमा ती क्षेत्रबाट अपेक्षित लाभ लिन नसकिएको बताए ।

कर्णालीमा लगानीको वातारण बनाउन संघीय सरकारले पूर्वाधारका ५ वटा क्षेत्रमा प्राथमिकता राख्नुपर्ने बताए । उनका अनुसार पूर्वाधार विकासमा सहजीकरण गरे सबैभन्दा राम्रो प्रदेशको रूपमा स्थापित गर्न सकिन्छ ।

‘मुलुक संघीय संरचनामा गइसकेपछि पनि लगानी सम्बन्त्री कानूनहरू पुरानै कानुन अनुसार चलिरहेकोले त्यसलाई प्रादेशिक संरचनामैत्री बनाउनुपर्छ,’ उनले भने ।

पू्र्वाधारमा लगानी नभएसम्म निजी क्षेत्र आकर्षित नहुने हुँदा सरकारले पहिला पूर्वाधार विकासमा विश्वासको वातारण बनाउनुपर्ने कँडेलको भनाइ छ ।

‘कर्णालीमा लगानी गर्ने उत्सुकता देखिन्छ, लगानीको उपयुक्त स्थानहरूपनि छन्,’ उनले भने, ‘लगानीकर्ताले लगानीको लागि कानूनहरू बाधक भएको देखाएर पन्छिनु हुन्छ ।’ कानूनलाई लगानी मैत्री बनाउन अग्रसर हुनुपर्नेमा उनको जोड थियो ।

प्रकाशित मिति : २०८१ पुस १० गते बुधबार