एमालेका चार हजार सदस्य गायब



आगामी निर्वाचनमा पहिलो पार्टी हुने उद्देश्यका साथ नेकपा एमालेले मिशन २०८४ अभियान चलाइरहे पनि नेतृत्वप्रतिको असन्तुष्टिले पार्टी कमजोर बन्दै गएको देखिन्छ ।

लुम्बिनी प्रदेशमा यो वर्ष एमालेका ६ हजार सदस्यले संगठित सदस्यता नवीकरण गराएनन् । नवीकरण अभियानअन्तर्गत घर घरमा गएर अनुरोध गर्दा पनि नमान्ने कार्यकर्ताले कारकका रुपमा नेतृत्वमा र मौलाउँदै गएको विकृति र विसंगतिलाई औंल्याउने गरेका छन् ।

गत वर्षसम्म उक्त प्रदेशमा संगठित सदस्य संख्या ८२ हजार थियो । यो वर्ष ७६ हजारले मात्र नवीकरण गराए । गत एक वर्षमा एमालेले पार्टी विभाजनको राम्रै क्षति व्यहोरेको देखिन्छ ।

एमालेबाट छुटेर एकीकृत समाजवादी गठन हुँदा ४ हजार संगठित कार्यकर्ताले पार्टी छाडेका थिए । विभाजन हुँदा भन्दा बढीले नवीकरण नगराउनुले आमरुपमा पार्टी कमजोर हुँदै गएको बुझ्न सकिन्छ ।

प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा बढी कार्यकर्ता रुपन्देहीमा छन् । यहाँ १४ हजार एक सय, दाङमा १० हजार दुई सय, गुल्मीमा ९ हजार ४ सय, अर्घाखाँचीमा ७ हजार दुई सय, कपिलवस्तुमा ६ हजार ६ सय, पाल्पामा ६ हजार ४ सय, बर्दियामा ५ हजार दुई सय कार्यकर्ताको सदस्यता नवीकरण भएको छ । त्यस्तै, प्युठानमा ४ हजार ८ सय, बाँकेमा ४ हजार ६ सय, पश्चिम नवलपरासीमा ३ हजार ५ सय, रोल्पामा २ हजार दुई सय र रुकुममा ९ सयको नवीकरण गरिएको छ ।

प्रदेश भरिमै नवीकरण नगर्नेको संख्या सबैभन्दा बढी दाङ र रुपन्देहीमा देखियो । रुपन्देही पार्टी उपाध्यक्ष बिष्णु पौडेल र दाङ महासचिव शंकर पोखरेलको गृहजिल्ला हो । यी दुई जिल्लाका दुई/दुई हजार बढी कार्यकर्ताले अझैसम्म पनि सदस्यता नवीकरण गराएका छैनन् । महासचिवको कार्यशैलीकै कारण सदस्यता नवीकरण नगराउनेको संख्या ठूलो रहेको स्थानीय कमिटीहरूले बताउने गरेका छन् । यो बिषयमा पोखरेल स्वयं जानकार भए पनि आफ्नो कार्यशैली सुधार्नतिर लागेको पाइँदैन ।

प्रदेशको पहिलो मुख्यमन्त्री हुँदा होस् या एमालेको सरकार बन्दा, बजेट र योजना मात्र होइन, राजधानी नै बुटवलबाट दाङ लैजान सफल पोखरेलको जिल्लामा उनकै बैनी—ज्वाइँ शिवकुमार आचार्य अध्यक्ष छन् । महासचिवकै जोडबलमा नयाँलाई टप्प टिपेर अवसर दिने र पाकालाई बेवास्ता गर्ने गरिएका कारण आधारभूत तहमा दाङको अवस्था कमजोर देखिन्छ ।

उपाध्यक्ष पौडेलको गृह जिल्ला झन् दुई नेताको गुटबन्दीको उत्कर्षमा छ । यहाँका साना अवसरसमेत गुट हेरेर दिने गरिएको छ ।

 

प्रकाशित मिति : २०८१ पुस २४ गते बुधबार