
भारतीय सैन्य इतिहासमा पहिलोपटक दुई महिला अफिसरहरु – कर्नल सोफिया कुरेशी र वायुसेनाकी विङ्ग कमाण्डर व्योमिका सिंहले भारतको मुख्य सैन्य अपरेशनको बारेमा जानकारी दिने प्रेस ब्रिफिङ्गको नेतृत्व गरे ।
दुई महिला अफिसरलाई प्रेस ब्रिफिङ्गमा उभ्याएर भारतले एकसाथ अनेक सन्देश दिएको छ । दुई साताअघि जम्मू-कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलामा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो । आतङ्ककारीहरूले हिन्दु र पुरुषलाई निशाना बनाएका थिए ।
पहलगाममा मारिएका पुरुषहरूका पत्नीहरू र परिवारहरूको सम्झनामा यस अपरेसनलाई भारतले ‘अपरेसन सिन्दुर’ नाम दिएको हो । र, महिला अफिसरलाई अग्रभागमा उभ्याएर भारतले यो आक्रमणलाई पहलगाम हमलामा विधवा भएका महिलालाई समर्पित गरेको प्रष्ट सन्देश दिएको छ ।
‘अपरेसन सिन्दुर’को ब्रिफिङ्गमा महिला कमाण्डर उभ्याएर भारतले पहलगाम आक्रमणमा विधवा हुन पुगेकाहरुप्रति सम्मान गरेको सङ्केत देखाएको छ । ‘अपरेसन सिन्दुर’ नाम राखेर भारतले पहलगाममा सिन्दुर पुछिएका महिलाहरुको बदलाभाव पनि देखाएको छ ।
पत्रकार सम्मेलनको नेतृत्वका लागि कर्नेल कुरेशी र विङ कमाण्डर सिंह छानेर भारतले लैङ्गिक समानता र राष्ट्रिय रक्षामा महिलाको बलियो उपस्थिती भएको सन्देश दिएको छ ।
यो अपरेशनको नाम ‘सिन्दुर’ राख्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै सुझाएका थिए । अप्रिल २२ मा पहलगाम आक्रमणका विधवाहरूलाई सम्मान गर्न भनेर यो नाम छानेको भारतीय सञ्चार माध्यमहरुले बताएकाछन् ।
हिन्दु महिलाहरूले विवाहको प्रतीकको रूपमा आफ्नो टाउकोमा सिन्दुर लगाउने गर्छन् । पहलगाम हमलामा धेरै महिलाको सिन्दुर पुछिएको थियो । र, त्यसैको बदला लिन भनेर भारतले यो अपरेशनको नाम ‘सिन्दुर’ राखेको बुझिन्छ ।
महिला सैनिकलाई नै आक्रमणको जानकारी गराएर भारतले पहलगाम हमलामा विधवा भएकालाई भावनात्मक बदल प्रदान गर्न खोजको देखिन्छ ।
त्यसो भए को हुन् त यी दुई महिला कमाण्डर
सोफिया कुरेशी
लेफ्टिनेन्ट कर्नल सोफिया कुरेशी भारतको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सैन्य अभ्यास एक्सरसाइज फोर्स १८ प्रशिक्षणमा भारतीय टिमको नेतृत्व गर्ने पहिलो महिला कमाण्डर हुन् ।
उनी सन् २००६ देखि कङ्गोमा शान्ति मिसनमा पनि सामेल थिइन् । उनका हजुरबुवा पनि भारतीय सेनामा कार्यरत थिए । अपरेशन सिन्दुरका बारेमा जानकारी दिँदै गर्दा उनले भारती युवाहरुलाई सेनामा भर्ती हुन पनि आग्रह गरिन् ।
कुरेशी सैन्य सञ्चार र सूचना प्रणाली सञ्चालन गर्ने सिग्नल कोर्पसी मुख्य अधिकारी हुन् । उनका श्रीमान् पनि सेनाको मेकानाइज्ड इन्फन्ट्रीमा कार्यरत छन् ।
व्योमिका सिंह
विङ कमाण्डर व्योमिका सिंह भारतीय वायुसेनामा सम्मानित नामका रुपमा परिचित छिन् । राहत तथा उद्धार कार्यमा उनले गरेको कामको प्रशंसा गर्दै उनलाई सिग्नल अफिसर–इन–चीफको सम्मान प्रदान गरिएको थियो ।
सन् २००४ मा भारतीय वायुसेनामा भर्ती भएकी विङ कमाण्डर व्योमिकाले चेतक र चित्ता हेलिकप्टर उडानमा रेकर्ड बनाएकी थिइन् ।
सन् २०१७ मा विङ कमाण्डरको पदमा पदोन्नति भएकी उनी भारतीय वायुसेनामा महिलाहरुका लागि प्रेरणा मानिन्छिन् ।
प्रतिक्रिया दिनुहोस्