यार्सा टिप्न डोल्पा पुगेका जाजरकोटका युवकको मृत्यु



सुर्खत । यार्सागुम्बा संकलन गर्न डोल्पा पुगेका जाजरकोटका एक युवकको डोल्पा जिल्लास्थित नावरपानी बन क्षेत्रमा मृत्यु भएको छ। जाजरकोट जिल्ला नलगाड नगरपालिका वडा नं ८ का १९ वर्षीय धन बहादुर विकको नावरपानी यार्सा पाटनमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ।

प्राप्त जानकारीअनुसार, धन बहादुर यार्सागुम्बा टिप्नका लागि काईके गाउँपालिका क्षेत्र भित्र पर्ने नावरपानी लेख क्षेत्र पुगेका थिए। यहीं उनले ज्यान गुमाएका हुन्। घटनापछि डोल्पा जिल्ला काईके गाउँपालिका अन्तर्गत पर्ने बन्ठाडा उरुटोल प्रहरी चौकीका इञ्चार्ज महेश महराको नेतृत्वमा खटिएको प्रहरी टोलीले मृतकको शव फेला पारी उद्धार गरेको छ।
प्रहरी टोलीले दुर्गम भौगोलिक अवस्थाका बाबजुद मृतकको शव आफैं बोक्दै सुरक्षित रूपमा जिल्ला सदरमुकाम दुनै पु¥याएको जनाएको छ। यार्सागुम्बा संकलनका क्रममा वर्षेनी यस्ता दुःखद घटनाहरू घट्दै आइरहेको छ।

मृतकको शव पोष्टमार्टम तथा अन्य आवश्यक प्रक्रिया पूरा गर्न जिल्ला अस्पताल पठाइएको जनाइएको छ। मृतक विकको शवलाई पोष्टमार्टम गरी आफन्तलाई बुझाउने प्रकिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ।

 

प्रकाशित मिति : २०८२ जेठ १५ गते बिहीबार