जुम्लामा दुई वडाध्यक्षमाथि आक्रमणः एकमाथि चक्कु र अर्का माथि ढुङ्गा प्रहार



 

सुर्खेत । जुम्लाको तिला गाउँपालिकामा दुई जना वडाध्यक्षमाथि आक्रमण भएको छ।

तिला गाउँपालिका–५ का वडाध्यक्ष ललितबहादुर शाहीमाथि आइतबार चक्कु प्रहार भएको छ भने सोही गाउँपालिका–३ का वडाध्यक्ष धनबहादुर शाहीमाथि ढुङ्गा प्रहार भएको प्रहरीले जनाएको छ।

४२ वर्षीय वडाध्यक्ष ललित शाहीमाथि वडा नम्बर–४ मा विकास आयोजनाको अनुगमन सकेर घर फर्कने क्रममा सामूहिक आक्रमण गरी चक्कु प्रहार गरिएको हो।

पीडित वडाध्यक्ष शाहीले तिला–३ का लक्की बुढा, तिला–४ का सुधन शाही र सुशील शाहीले चक्कु प्रहार गरेको आरोप लगाएका छन्।

उनले आक्रमणकारीसँग आफ्नो कुनै विवाद नरहेको र अब कानुनी प्रक्रियामा जाने बताए। ‍‘घर फर्किँदै थियौं, एक्कासि चक्कु प्रहार भयो,‍’ शाहीले भने, ‍‘ज्यान मार्ने उद्योगमा जाहेरी दिने तयारी छ।‍’

चक्कु प्रहारबाट घाइते शाहीको शरीरको पछाडिको विभिन्न भागमा १७ वटा टाँका लगाइएको छ। उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक असिम हमालले जानकारी दिए।

प्रहरी निरीक्षक हमालका अनुसार पीडितले तीन जनाको नाम किटान गरे पनि प्रहरीले हालसम्म एक जनालाई जुम्ला बसपार्कबाट पक्राउ गरेको छ। अन्य दुई जनाको खोजी कार्य जारी रहेको उनले बताए। प्रहरीले हालसम्म पक्राउ परेका व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन।

यसैगरी, तिला गाउँपालिका–३ का ३८ वर्षीय वडाध्यक्ष धनबहादुर शाहीमाथि पनि ढुङ्गा प्रहार भएको छ। वडाध्यक्ष शाहीले आफूमाथि ढुङ्गा प्रहार भए पनि हेल्मेट लगाएका कारण चोट लाग्नबाट जोगिएको सुनाए। ‍‘उनीहरूको नियत ज्यान मार्ने उद्देश्यकै रहेको देखियो,‍’ धनबहादुरले भने।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी रविनबाबु रेग्मीले चक्कु प्रहार गर्ने युवाविरुद्ध निवेदन परेको र घटनाको अनुसन्धान भइरहेको जानकारी दिए।

घाइते वडाध्यक्ष ललित शाहीलाई भेट्न गाउँपालिका अध्यक्ष मोतीलाल रोकाया र उपाध्यक्ष कल्पना बुढा अस्पताल पुगेका थिए। उनहरूले दोषीमाथि कारबाहीको माग गरेका छन्।

प्रकाशित मिति : २०८२ जेठ १९ गते सोमबार