सल्यानमा २३ वर्षीय युवक मृत घटनाः तीन जना पक्राउ



सल्यानमा २३ वर्षीय युवक मृत फेला परेको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

पक्राउ पर्नेहरु बनगाड कुपिण्डे नगरपालिका–६ का २७ वर्षीय साजन विसी, २६ वर्षीय राजु बुढा क्षेत्री र २१ वर्षीय सोमराज केसी रहेका छन् ।

बनगाड कुपिण्डे नगरपालिका–६ का २३ वर्षीय शंकर विसी डुडाखोल–कुवाखोलामा गत शुक्रबार मृत फेला परेका थिए ।
उनको घटना शंकास्पद रहेको भन्दै प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो । जिल्ला प्रहरी कार्यालयका डिएसपी केशर न्यौपानेले शंकास्पद तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका युवाहरुसँगै शंकर बनगाड कुपिण्डे–७ ढोेरपिपलमा लागेको मेला हेर्न पुगेका थिए । मेलाबाट फर्किएर उनीहरूले बजारमा मदिरा सेवन गरेको प्रहरीसँग बताएका छन् । शंकरले मोटरसाइकल चलाएर साथीलाई छोड्न गएकोसमेत उनीहरूले बताएका छन् ।

मध्यरातमा मोटरसाइकल दुर्घटनामा परेको उनीहरूको भनाइ छ । यहीबीचमा घटना भएको हुनसक्ने प्रहरीको आकलन छ । तर पक्राउ परेका तीनै जनाले घटनाबारे नबताएको डिएसपी न्यौपानेले बताए ।

घटनाबारे थप अनुन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०८२ जेठ २० गते मंगलबार