
दैलेखको आठबिस नगरपालिका–१, पाप्नेखोलामा एक अनियन्त्रित टिपर घरभित्र पस्दा एकै परिवारका चार जनासहित पाँच जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा घरधनी २७ वर्षीय बाले विक, उनकी २५ वर्षीया श्रीमती मनसरा विक, ६ वर्षीय छोरा रोशन विक र १८ महिनाका छोरा नविन विक रहेका छन् ।
त्यस्तै, उनीहरुका छिमेकी ५६ वर्षीय जंगे कामी पनि घाइते भएको छन् ।
शनिबार बिहान पश्चिम दैलेखको सात्तलाबाट जम्बुकाँधतर्फ आइरहेको बा २ क ९३६९ नम्बरको टिपर सडक छेउमा रहेको स्थानीय (२७) बाले विकको ढुंगाले बनेको दुई कोठे घरमा पसेको थियो ।
टिपरको ठक्करबाट घर पूर्णरुपमा भत्किएको छ भने घरभित्र रहेका व्यक्तिहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सुचना अधिकारी लालबहादुर सुनारले जानकारी दिए ।
घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरुको सातालास्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटना गराएर फरार भएका चालक सोही नगरपालिकाको वडा नम्बर २ सिस्नेका हर्कबहादुर शाही रहेको खुलेको छ । उनको खोजी कार्य भइरहेकाे छ ।









प्रतिक्रिया दिनुहोस्