
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा आफैँ खेतमा पसेर धान रोपेका छन् ।
अखिल नेपाल किसान सङ्घ, जिल्ला कमिटी सुर्खेतले आइतबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा सहभागी हुँदै मुख्यमन्त्री कँडेलले हिलोमा पसेर किसानहरुसँगै धान रोपेका हुन् ।
कार्यक्रममा सहभागी मुख्यमन्त्री कँडेलले परम्परागत नेपाली टोपी लगाएर, पाइन्ट माथि सारेर हिलाम्मे खेतमा पसी धानका बीउ हातमा लिएर रोपेका थिए ।
तस्वीरमा उनी अन्य स्थानीय किसान, महिला तथा एक बालकको साथमा रमाइलो मुद्रामा धान रोप्दै गरेको देखिन्छन् । यसले कृषि कर्मप्रतिको सम्मान र प्रदेश सरकारको प्राथमिकतालाई सांकेतिक रूपमा प्रस्तुत गरेको छ ।
महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेशको आर्थिक समृद्धिको बलियो आधार कृषि भएको बताए । उनले कृषिमा आत्मनिर्भर बन्ने बाटो रोज्नुपर्ने र त्यसका लागि परम्परागत प्रणालीलाई परिमार्जन गरी आधुनिक, वैज्ञानिक र व्यावसायिक कृषि प्रणालीको अवलम्बन गर्नुपर्नेमा जोड दिए ।
“हामी कृषिमा आत्मनिर्भर बन्न सक्छौं, तर त्यसका लागि सरकार, किसान, प्राविधिक, निजी क्षेत्र र समुदाय सबैको साझा प्रयास आवश्यक छ,” मुख्यमन्त्री कँडेलले भने, “खेतीपातीलाई अब जीविकोपार्जनको भर होइन, व्यवसायको मुख्य माध्यम बनाउँदै लैजानुपर्छ ।”
मुख्यमन्त्री कँडेलले कर्णालीको भौगोलिक अवस्थाले पनि विशिष्ट कृषि उत्पादनका लागि सम्भावना बोकेको उल्लेख गर्दै त्यसको वैज्ञानिक व्यवस्थापन गर्न सके कृषि क्षेत्रबाट नै रोजगारी, उत्पादन र आम्दानी बढाउन सकिने बताए । कृषक पञ्जिकरण, कृषि सहुलियत ऋण, गुणस्तरीय बीउ र मलको वितरण, तालिम तथा सिँचाइ पूर्वाधारको विस्तारमा प्रदेश सरकारले विशेष प्राथमिकता दिएको उनको भनाई थियो ।
कार्यक्रममा स्थानीय किसान, जनप्रतिनिधि, कृषि प्राविधिक, सङ्घ संस्थाका प्रतिनिधि र सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको थियो । कार्यक्रमले धान दिवसको सांस्कृतिक महत्वलाई उजागर गर्नुका साथै कृषि क्षेत्रको विकासका लागि सरकारी र जनस्तरमा नयाँ उत्साह थपेको छ ।









प्रतिक्रिया दिनुहोस्