वर्षाले कर्णाली राजमार्गमा फेरि सास्ती, पहिरो हटाउने प्रयास जारी



कर्णाली राजमार्ग । फाईल तस्वीर

आइतबारदेखिको अविरल वर्षाका कारण कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको गगने खोलामा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

सोमबार बिहानैदेखि राजमार्ग बन्द हुँदा कालिकोट, जुम्ला, मुगु, हुम्ला लगायतका जिल्लाबाट सुर्खेततर्फ जाने र आउने सयौं सवारी साधन तथा यात्रुहरू अलपत्र परेका छन्।

जिल्ला प्रहरी कार्यालय, कालिकोटका अनुसार पहिरो पन्छाउनका लागि डोजर पठाइएको छ तर वर्षा नरोकिएको र पहिरो खस्ने क्रम जारी रहेकाले काम गर्न कठिनाइ भइरहेको छ। प्रशासनले पानी रोकिएमा दिउँसोसम्म एकतर्फी सडक खुलाउने प्रयास भइरहेको जनाएको छ।

हरेक वर्ष वर्षायाममा हिलो र पहिरो तथा हिउँदमा धुलोले सास्ती दिने गरेको कर्णाली राजमार्गको स्तरोन्नति नहुँदा स्थानीयले वर्षौंदेखि दुःख पाउँदै आएका छन्।

प्रकाशित मिति : २०८२ असार १६ गते सोमबार