
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले वर्तमान मुख्यमन्त्री यामलाल कँडेलप्रति लक्षित गर्दै सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।
मंगलबारकाे प्रदेश सभा बैठकमा उनले बजेट निर्माणका क्रममा आफूले दिएको सुझावलाई मुख्यमन्त्रीले बेवास्ता गरेको र फलस्वरुप त्रुटिपूर्ण बजेट आएको आरोप लगाउँदै यस्तो बजेट पास हुन नसक्ने चेतावनी समेत दिएका छन्।
प्रदेश सभा बैठकमा आक्रामक रूपमा प्रस्तुत भएका शाहीले ‘स्याउ विकास बोर्ड’लाई ‘फलफूल विकास बोर्ड’ बनाएको विषयमा मुख्यमन्त्रीसँग भएको संवाद सुनाउँदै आफ्नो असन्तुष्टि पोखे।
“मैले मुख्यमन्त्रीज्यूसँग कुरा राख्दा उहाँले ‘फलफूल विकास भनिसकेपछि पुग्दैन र जीवनजी?’ भन्नुभएको थियो,” शाहीले भने, “मैले स्याउ बोर्ड नै राख्नुपर्छ, यो विशेष कार्यक्रम हो भनेर अडान लिएको थिएँ। तर नीति तथा कार्यक्रममा भएको कुरा बजेटमा आउँदा फेरियो।”
उनले मुख्यमन्त्रीको अपरिपक्वताका कारण बजेटमा गम्भीर त्रुटिहरू भएको आरोप लगाए। “यस्तो अपरिपक्व बजेट मुख्यमन्त्रीज्यूले त रोक्नुपर्ने होइन ?” उनले प्रश्न गरे, “एउटा गल्ती हुँदा संसारमा राजीनामा दिएर हिँड्ने इतिहास छन्। यहाँ त सिंगो पुस्तक नै अधुरो आएको छ।”
सत्तारुढ गठबन्धनकै प्रमुख नेता शाहीले बजेट पुस्तिकामा योजनाको स्रोत र दातृ निकाय जस्ता महत्वपूर्ण कुरा उल्लेख नभएको भन्दै सरकारको नियतमाथि प्रश्न उठाए। उनले भने, “यो अविवेकी (irrational), अतार्किक (unreasonable) र मूर्खतापूर्ण छ। यस्ता शब्दहरू प्रयोग गर्दा मुटु घोच्छ।”
शाहीले बजेटमाथि सत्तारुढ दलबाटै असहयोग हुन सक्ने संकेत गरे। “यदि यी कुराहरू नसच्याउने हो भने, भोलि सत्तारुढ दलले साथ दिएन भनेर गुनासो गर्ने ठाउँ रहने छैन,” उनले चेतावनी दिए, “यो सम्मानित पद (माननीय) ठट्टा होइन।”
शाहीको यो कडा अभिव्यक्तिले सत्तारुढ गठबन्धनभित्रको मतभेद सतहमा आएको छ र सरकारलाई बजेट पारित गर्न थप दबाब सिर्जना भएको छ।









प्रतिक्रिया दिनुहोस्