
सुर्खेत । गत सातादेखि सम्पर्कविहीन भएका कर्णाली प्रदेश सरकारका एक सवारी चालकको शव भेरी नदीमा फेला परेको छ।
भौतिक पूर्वाधार विकास मन्त्रालय, सुर्खेतमा कार्यरत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–२ का अन्दाजी २९ वर्षीय हिमबहादुर विष्टको शव शुक्रबार भेरी नदी किनारमा भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार, विष्ट असार ६ गते बिहान ‘बिरामी छु’ भनी कार्यालयमा खबर गरेयता सम्पर्कविहीन भएका थिए।
यसअघि, उनले प्रयोग गर्ने सरकारी मोटरसाइकल असार ९ गते भेरीगंगा नगरपालिकास्थित भेरी पुल नजिक सडक किनारमा बेवारिसे अवस्थामा फेला परेको थियो।
खोजतलासकै क्रममा शुक्रबार बराहाताल गाउँपालिका वडा नम्बर ४, साजघाटस्थित भेरी नदी किनारमा उनको शव फेला परेको डीएसपी बुढथापाले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









प्रतिक्रिया दिनुहोस्