मनसुन केही कमजोरः आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना



काठमाण्डौ । अहिले कोशी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार गएराति कर्णाली र सुदूरपश्चिममा अरू प्रदेशको तुलनामा कम पानी प¥यो । राति नुवाकोटमा, सिन्धुपाल्चोक, रामेछाममा ठूलो पानी प¥यो ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ । त्यस्तै आजराति कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिए । दिउँसोको तुलनामा राति ठूलो पानी पर्ने सम्भावना छ ।

अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको र न्यून चापीय रेखा सरदर ठाउँ आसपास रहेको जल तथा मौसम पूवानुमान महाशाखाले जनाएको छ । भोलि आइतवारसम्म मनसुन केही कमजोर हुने मौसमविद्ले बताएका छन् । केही ठाउँमा पानी परे पनि धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् उज्जवल उपाध्यायले बताए ।

प्रकाशित मिति : २०८२ असार २१ गते शनिबार