हिमपहिरोको त्रासमा हल्जीवासी



सुर्खेत । चिनियाँ हिमताल फुटेर हिमपहिरो जाँदा रसुवामा ठुलो क्षति भएपछि हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारि लिमीको हल्जी गाउँवासी हिमपहिरोको त्रासमा रहेका छन ।
हल्जी गाउँको माथि ठुलठुला हिमताल छन्, बेला बेला ती ताल फुटेर हिमपहिरो आइरहने भएका कारण यतिबेला लिमीको हल्जीवासी त्रसित बनेका हुन् । बर्खा लागेसँगै गाउँमाथि रहेका हिमताल फुटेर हिमपहिरो आउँछ कि भनेर गाउँवासी चिन्तित रहेको हल्जीगाउँकी डोमा तामाङले बताइन । केही वर्षको अन्तरमा बेला बेला हिमताल फुटेर हिमपहिरो आइरहने भएकाले यस वर्ष वर्षा पनि धेरै हुने जानकारी आएकाले स्थानीय बढी चिन्तित देखिएको उनले बताइन ।

यसअघि आठ वर्षअगाडि हिमपहिरो आएर खेती लगाएको जग्गाजमिन बगाएको, लघुजलविद्युत्, घट्ट, काठेपुल बगाएर लगेको सम्झँदै  केही घरको नजिकबाट पहिरो गएको कारण अहिले पनि जोखिममा कायमै रहेको बताइन । त्यसै गरी लिमीको हल्जीगाउँका फुर्वा तामाङले गत जेठ १ गते राति लिमीकै तिलगाउँमा हिमताल चुहिएर पहिरो जाँदा भएको क्षतिलाई सम्झँदै आफ्नो गाउँ पनि हिमपहिरोको उच्च जोखिममा रहेको बताए । लिमीका तीन गाउँमध्ये हल्जीगाउँ सबैभन्दा बढी हिमपहिरोको जोखिममा रहेको छ । तीन हजार ९३८ मिटर उचाइमा रहेको हल्जीगाउँमा पानी पर्न थालेपछि बढी चिन्ता लाग्ने गरेको उनले बताए ।

लिमीका वडाध्यक्ष पाल्जोर तामाङले हिमपहिरोको जोखिम भए पनि गाउँमा बस्नैपर्ने बाध्यता रहेको बताए । गाउँदेखि माथि अग्लो क्षेत्रमा पुरानो र निकै ठुलो लामा भाषामा खाँची हिमताल भएको र त्यो ताल बेला बेला फुटेर गाउँनजिकै हिमपहिरो आइरहने गर्दछ । उहाँले दुई दिनअगाडि रसुवामा हिमताल फुटेर गएको पहिरोको कारण ठुलो क्षति भएको जानकारी आइरहेकाले हल्जी गाउँवासी बढी चिन्तित रहेको बताए । सो स्थानमा पाँच वटा हिमताल रहेका छन् । तीमध्ये एउटा ठुलो र अन्य भने साना रहेका छन् ।

लिमीको हल्जीगाउँ उत्तरतर्फ हिमतालको जोखिममा रहेको छ भने अन्य तीनतिर हिमपहिरोको जोखिम छ । दक्षिणतर्फ पनि हिमाल रहेको सो हिमालबाट तक्लुखोलाबाट पनि हिमपहिरो आएर तलको लिमी कर्णाली रोकिने गरेको विगत रहेको बताए। हल्जीगाउँमा ९१ घरधुरीमा ४१३ जना मानिसको बसोबास छ । जिल्ला विपत् व्यवस्थापन समितिले पनि लिमीको हल्जीगाउँलाई सबैभन्दा उच्च जोखिममा रहेको बस्तीमा पारेको छ ।

प्रकाशित मिति : २०८२ असार २७ गते शुक्रबार