
जाजरकोट जिल्लाका लागि सोमबारको छुट्टाछुट्टै दुर्घटनामा परी दुई जना युवाको मृत्यु भएको छ भने एक किशोर घाइते भएका छन् ।
भेरी नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भयो भने नलगाड नगरपालिकामा करेन्ट लागेर अर्का एक युवकले ज्यान गुमाए ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार, सोमबार बिहान करिब ७ः४५ बजे छिन्चु–जाजरकोट सडकखण्ड अन्तर्गत भेरी नगरपालिका–१० आलिमा ट्याक्टर दुर्घटना भएको हो ।
फेराबजारबाट छेडा बजारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०१–००२ त ०६०७ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल भेरी नदीको किनारमा खसेको थियो ।
दुर्घटनामा ट्याक्टर चालक, भेरी नगरपालिका–९ का १९ वर्षीय धन बहादुर विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिराम डाँगीले जानकारी दिए ।
उनका अनुसार, ट्याक्टरमा सवार भेरी नगरपालिका–७ निवासी १५ वर्षीय विरेन्द्र परियार घाइते भएका छन् ।
घाइते परियारलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट लगिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, नलगाड नगरपालिका–४ गाडेखोलामा विद्युतको तार मर्मत गर्ने क्रममा सोमबार बिहान करिब १०ः३० बजे एक युवकको करेन्ट लागेर मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय दल्लीका अनुसार, नलगाड नगरपालिका–७ चामाखेतका २२ वर्षीय शिशिर चन्द पोलमा चढेर तार मर्मत गरिरहेका थिए । सोही क्रममा अचानक करेन्ट लाग्दा उनको पोलमै झुण्डिएर मृत्यु भएको थियो।
प्रहरी निरीक्षक सन्तोष चन्दले मृतक चन्द ज्यालादारीमा कार्यरत मजदुर रहेको बताए । उनको शवलाई उद्धार गरी पोष्टमार्टमका लागि नगर अस्पताल दल्लीमा ल्याइएको छ ।









प्रतिक्रिया दिनुहोस्