कर्णालीमा स्थानीय तहका कर्मचारीको बढुवा र स्तरवृद्धिको बाटो खुल्यो, संशोधन विधेयक पारित



कर्णाली प्रदेश सभाले लामो समयदेखि चर्चामा रहेको ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन—२०८१ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ ।

बुधबार बसेको प्रदेश सभा बैठकले उक्त विधेयक पारित गरेको हो । योसँगै स्थानीय तहमा कार्यरत कर्मचारीहरूको स्तरवृद्धि र बढुवाको बाटो खुलेको छ ।

पारित विधेयकले स्थानीय तहका कर्मचारीहरूको वृत्तिविकासका महत्त्वपूर्ण विषयहरूलाई सम्बोधन गरेको छ ।

ऐनमा कर्मचारीहरूको स्तरवृद्धि र बढुवा सम्बन्धी व्यवस्थालाई स्पष्ट पार्दै यसका लागि निर्धारित मापदण्ड र प्रक्रियासमेत तोकिएको छ ।

यो विषय लामो समयदेखि स्थानीय तहका कर्मचारीहरूले उठाउँदै आएको प्रमुख माग थियो ।

प्रदेश सभामा पेश हुनुअघि उक्त विधेयकमाथि प्रदेश मामिला समितिमा विस्तृत र व्यापक छलफल भएको थियो । समितिले सरोकारवालाहरूको राय सुझाव समेटेर तयार पारेको प्रतिवेदनसहित विधेयकलाई सभामा पेश गरेको थियो, जसलाई सभाले सर्वसम्मतिले अनुमोदन गरेको हो ।

यो ऐन संशोधन भएसँगै कर्णालीका स्थानीय तहमा कार्यरत कर्मचारीहरूको मनोबल उच्च हुने र सेवा प्रवाहमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

अब निर्धारित प्रक्रिया पूरा गरी कर्मचारीहरूको बढुवा र स्तरवृद्धिको काम अघि बढ्नेछ ।

प्रकाशित मिति : २०८२ असार ३२ गते बुधबार