
कर्णाली प्रदेशमा तीव्र रुपमा मौलाउँदै गएको भ्रष्टाचार र कुशासनको विरुद्धमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेत कार्यालयमा गम्भीर ध्यानाकर्षण गराएको छ।
राप्रपाका केन्द्रीय कार्यसमिति सदस्य रवि किरण हमालद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा प्रदेशका दर्जनौं आयोजनामा भएका भ्रष्टाचारका प्रकरणहरूलाई औंल्याउँदै तिनीहरूमा तत्काल र निष्पक्ष अनुसन्धानको माग गरिएको छ।
राप्रपाका युवा नेताहरु प्रेम बिसी, मणिचन्द्र पाण्डे, सन्देश शाही, पारस शाही र जङ्गबहादुर शाही सहित किरण सुर्खेत स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पुगेका थिए।
ध्यानाकर्षण पत्रमा उल्लेख गरिएअनुसार, कर्णाली प्रदेश सरकार बजेट कार्यान्वयनमा असाध्यै कमजोर रहेको र हालसालै आर्थिक वर्ष २०८१/८२ को झन्डै एक तिहाई बजेट खर्च गर्न नसकेको तथ्य नै त्यसको प्रमाण हो ।
खर्च भएको रकमसमेत योजनाविना, मनपरी र संस्थागत रूपमा दुरुपयोग गरिएको भन्दै राप्रपाले गम्भीर आपत्ति जनाएको छ।
राप्रपाले विशेष रूपमा निम्न प्रकरणहरूमा अनुसन्धान माग गरेको छः
—प्रदेश अस्पतालले ःएमआरआई मेसिन खरिदमा करोडौंको अनियमिता
—रारा भ्रमण वर्षमा भएको खर्च र ठेक्कापट्टामा भएको घोटाला
—कोल्ड स्टोर निर्माणमा व्यापक अपारदर्शिता
—चौकुने गाउँपालिकामा बन्ने जुम्ल्याहा ताल आयोजनामा अनियमिता
—नमुना गाउँ निर्माण तथा कृषक अनुदान कार्यक्रमहरूमा भ्रष्टाचार
—खानेपानी आयोजना, एम्बुलेन्स खरिद, कोभिड स्वास्थ्य सामग्री खरिद, उपभोक्ता समितिको काममा भ्रष्टाचार
ध्यानाकर्षण पत्रमा उल्लेख छ—‘योजनाहरूमा कमिसन लिने, गुणस्तरहीन काम गर्ने मात्र नभई समयमै काम सम्पन्न नगर्ने प्रवृत्तिसमेत अख्तियारकै दुरुपयोगको रूप हो। सयौं योजना अधुरो छन्, जनताको करबाट उठेको पैसा खर्च भइसकेको छ तर प्रतिफल देखिएको छैन।’
राप्रपाका नेता हमालले अख्तियारमाथि समेत जनविश्वास खस्कँदै गएको बताएका छन् ।












प्रतिक्रिया दिनुहोस्