
कर्णाली प्रदेशमा अब जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता हट्ने भएको छ । प्रदेश सरकारले नागरिकको जोखिमपूर्ण यात्रालाई सुरक्षित बनाउन ‘तुइनमुक्त प्रदेश’ अभियानलाई तीव्रता दिएको छ ।
यसै अभियान अन्तर्गत प्रदेशभर ५० वटा खतरनाक तुइन पहिचान गरी तिनलाई झोलुङ्गे पुलले विस्थापित गर्ने प्रक्रिया अघि बढाइएको हो ।
प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले गरेको तथ्यांक संकलनमा हालसम्म सात जिल्लाबाट ५० वटा तुइन रहेको विवरण प्राप्त भएको छ ।
मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर तथा प्रवक्ता रमेश सुवेदीका अनुसार, संकलित तथ्यांकले सबैभन्दा बढी जोखिम हुम्लामा देखाएको छ, जहाँ एक्लै १५ वटा तुइन सञ्चालनमा छन् ।
तीमध्ये कर्णाली नदीमा मात्रै छ वटा तुइनले स्थानीयलाई त्रासमा नदी तर्न बाध्य बनाएको छ ।
त्यसैगरी, जाजरकोट र कालीकोटमा १२/१२ वटा, सुर्खेतमा आठ, डोल्पामा तीन तथा मुगु र दैलेखमा दुई/दुई वटा तुइन रहेको तथ्यांकले देखाउँछ। जुम्ला र रुकुम पश्चिमबाट भने विवरण आउन बाँकी रहेकोले तुइनको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा नै कर्णालीलाई ‘तुइनमुक्त’ बनाउने घोषणा गरेको थियो ।
सोही घोषणा कार्यान्वयन गर्न चालु आर्थिक वर्षमा तुइन विस्थापन र झोलुङ्गे पुल निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए। यो बजेटमार्फत जोखिमपूर्ण तुइनहरू क्रमशः हटाउँदै नागरिकलाई सुरक्षित झोलुङ्गे पुलको पहुँच सुनिश्चित गरिनेछ ।









प्रतिक्रिया दिनुहोस्