
सुर्खेत । ऋति फाउण्डेसनले नीति तथा शासनमा युवा (Youth in Policy and Governance – YPG) फेलोशिपको लागि आवेदन खुला गरेको छ।
कर्णालीका युवाहरुको नेतृत्व विकासका लागि फाउण्डेसनले कर्णाली प्रदेश सभासँगको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो। एक वर्ष अवधिको फेलोशिप कार्यक्रमले कर्णाली प्रदेशका २० देखि ३० वर्ष उमेर समूहका युवाहरुलाई लक्षित गरेको छ।
उक्त फेलोशिप अन्तर्गत सहभागीहरूले कर्णाली प्रदेश सभाका सदस्यहरूसँग सहकार्य गरी प्रादेशिक विधायकी प्रक्रिया, सार्वजनिक नीति, र शासन प्रणालीका बारेमा व्यवहारिक ज्ञान आर्जन गर्ने अवसर पाउनेछन्।
यसका साथै फेलोशिपको अवधिमा सहभागीहरूले विधायकी मस्यौदा लेखन, सार्वजनिक नीति निर्माण, नीतिगत अनुसन्धान, र शासन सम्बन्धी अन्य महत्वपूर्ण सीप सम्बन्धी तालिम प्राप्त गर्नेछन्।
फेलोसिपका लागि पहिलो चरणमा ५० जना युवाहरुलाई छनौट गरी तीन दिनको तालिम सञ्चालन गरिने ऋति फाउण्डेसनका कार्यकारी निर्देशक दिनेश गौतमले जानकारी दिए। गौतमका अनुसार दोस्रो चरणको तालिमका लागि २५ जना छनौट हुनेछन् भने तेस्रो चरणका लागि १२ जना छनौट गरिनेछ।
विभिन्न प्रतिष्पर्धी अभ्यासबाट अन्तिम चरणमा पुगेका उनीहरुले कर्णाली प्रदेश सभा सदस्यहरुसँग ६ महिनासम्म ज्ञान सहायकको रुपमा काम गर्ने अवसर प्राप्त गर्नेछन्।
अमेरिकी राजदुतावास नेपालको सहयोग र कर्णाली प्रदेश सभा सचिवालय तथा पुरक एसियासँगको सहकार्यमा ऋति फाउण्डेसनले उक्त फेलोशिप कार्यक्रम सञ्चालन गर्नेछ।
फाउण्डेसनले यसअघि सञ्चालन गरेको पूर्व व्यवसायिक संसदीय सहयोग कार्यक्रम मार्फत् कर्णाली प्रदेशका १२ जना युवाले प्रदेश सभा सदस्यहरुसँग ज्ञान सहायकको रुपमा काम गरिसकेका छन्।
उक्त फेलोशिपमा आवेदन दिनका लागि, इच्छुक युवा कम्तीमा स्नातक तह अध्ययनरत, कर्णाली प्रदेशको स्थायी बासिन्दा हुनुपर्छ।
फेलोशिपका लागि आवेदन दिन चाहनेले २०८१ कार्तिक १४ गतेसम्म आवेदन दिनुपर्नेछ। फेलोशिपले कर्णाली प्रदेशका युवाहरूलाई सार्वजनिक नीति र शासनमा सक्रिय भूमिका खेल्न सक्षम बनाउने उद्देश्य राखेको छ।
आवेदन दिनः https://hriti.org/applications-open-for-youth-in-policy-and-governance-ypg-karnali-2024-25/ आवेदन दिने प्रक्रिया सम्बन्धी थप जानकारीका लागि ypg@hriti.org मा इमेल गर्न सकिनेछ वा 083521564, 9858034425, 9864913555 मा सम्पर्क गर्न सकिनेछ।









प्रतिक्रिया दिनुहोस्