क्रिकेट टीम ‘कर्णाली याक्स’को प्रवर्धन दूतमा नायिका स्वस्तिमा खड्का नियुक्त



अहिलेकी चर्चित तथा लोकप्रिय नायिका स्वस्तिमा खड्का क्रिकेट टीम कर्णाली याक्सकी प्रवर्धन दूत घोषित भएकी छन् ।

बुधबार आयोजित एक समारोहमा खड्कालाई ‘फेस अफ द कर्णाली याक्स’को रुपमा नियुक्त गरिएको हो ।

यो टीमले नेपाल प्रिमियर लिगमा प्रतिस्पर्धा गर्दैछ । ८ टोलीले भाग लिने लिग मंसिर १६ देखि पुस ६ गतेसम्म आयोजना हुँदैछ । हिल्टन होटलमा बुधबार आयोजित समारोहमा कर्णाली याक्सले स्वस्तिमालाई दूतको रुपमा चिनाएको हो ।

नायिका खड्काले यसबारे सामाजि सञ्जाल फेसबुकमा समेत जानकारी गराएकी छिन् ।

May be an image of 4 people, television, newsroom and text

यस्तो छ उनको फेसबुक स्टाटसः
म जानीनजानी खेलसँग त्यसैगरी जोडिएकी छु, जसरी कर्णालीसँग वर्षौंदेखि जोडिएकी छु । मेरो जीवनका असाध्यै निकट सम्बन्धहरू कर्णालीले जन्माएको छ । कलाकारको आँखाबाट हेर्दा पनि कर्णालीको संस्कृति, भाषा, रीतिरिवाजले मलाई सधैं आकर्षित गर्छन् । त्यहाँका पात्रहरूमा अक्सर म आफूलाई पाइरहन्छु । राजनीतिक रूपमा ‘हेपिएको’ र ‘पिछडिएको’ विम्ब बोकेर कर्णालीले सधैं आफूलाई लघुताभाषमा लुकाइरह्यो । तर, अहिले कर्णाली मुलुकको मानचित्रमा आफ्नै पौरख बोकेर ठिंग उभिएको छ । जसरी नेपाली टोली अस्ति अमेरिकाको मैदानमा उभिएको थियो ।
केही वर्षअघिसम्म खेलप्रति मेरो बुझाइ काँचो थियो । कोही किन खेल्छ ? कोही किन खेल हेर्छ ? म सोच्थेँ– उनीहरू आफ्नो रहर पूरा गर्दै छन् । वा खेलको प्राविधिक पक्षबारे उनीहरू पूर्ण जानकार भएर खेलिरहेका वा हेरिरहेका छन् । या, खेल्नु उनीहरूको ‘प्यासन’ हो । हेर्नु उनीहरूको ‘प्यासन’ हो । केही वर्ष लाग्यो– खेलप्रति मेरो काँचो बुझाइ बिस्तारै पाक्दै गयो । खेलको आयतन मैले सोचेभन्दा कैयन ठूलो र फराकिलो रहेछ । यो ढिलो बुझें तर सही बुझें ।

May be an image of 1 person, newsroom, dais and text

प्रकाशित मिति : २०८१ कात्तिक २२ गते बिहीबार