भुपेन्द्रजङ्ग शाहीको नेतृत्वमा मेची–महाकाली ‘युवा संकल्प यात्रा’



सुर्खेत । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजङ्ग शाहीको नेतृत्वमा मेची–महाकाली ‘युवा संकल्प यात्रा’ हुने भएको छ ।
यात्रा झापाको काँकडभिट्टाबाट सुरु हुनेछ ।

यो यात्रा इटहरी, लहान, जनकपुर, लालबन्दी, वीरगञ्ज, भरतपुर, लमही, वीरेन्द्रनगर, कोहलपुर हुँदै मंसिर ४ गते महाकाली पुगेर समापन हुने अभियानका संयोजक शाहीले बताए ।

यो यात्राबाट युवालाई लोकतन्त्र, विधिको शासन, युवा हकहित र जनअधिकारका पक्षमा ऐक्यबद्धता जनाउँदै समृद्ध नेपाल निर्माणका लागि उद्यमशील बन्न प्रेरित गर्ने नेपाली कांग्रेसको अपेक्षा छ ।

यस अभियान मार्फत् रोजगारी सुनिश्चितताका लागि दबाव सिर्जना गर्ने, सुशासनका लागि खबरदारी गर्ने तथा मूल्यवृद्धि नियन्त्रणको विषय प्रखर रूपमा उठाउने कांग्रेसको तयारी छ ।

यो अभियानले सहकारीपीडितलाई तत्काल राहत र बचत फिर्ता गराउन पहलकदमी लिने तथा विभिन्न संस्था तथा सहकारी ठगलाई कारबाही गर्न दबाव समेत सिर्जना गर्ने कांग्रेसको विश्वास छ ।

साथै देश बनाउन र नागरिकलाई सबल तुल्याउन सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : २०८१ कात्तिक २३ गते शुक्रबार