केदारनाथ र टाइम्स स्क्वायरमा ‘कर्णाली याक्स’को झण्डा



नेपाल प्रिमियर लिग (एनपिएल)को टिम कर्णाली याक्सको झन्डा भारतको प्रसिद्ध धार्मिक स्थल केदारनाथ र अमेरिकाको टाइम्स स्क्वायरमा फहरिएको छ ।

हिमायलन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सलाई समर्थन गर्दै चितवनका सागर भट्टराईले उत्तराखण्डस्थित केदारनाथ पुगेर टोलीको झन्डा फहराए ।
उनले नेपाल प्रिमियर लिगका लागि सफलताको कामना गर्दै भनेका छन्, ‘कर्णाली याक्सले एनपिएल खेल्दैछ। उपाधि जितको लागि शुभकामना दिन चाहन्छु ।’

सागरजस्तै अमेरिकामा दिनेश शेर्पालीले साथीसँग मिलेर न्युयोर्कस्थित टाइम्स स्क्वायरमा कर्णालीको झण्डा फहराए। उनी पनि एनपिएलका लागि कर्णालीको समर्थनमा जुटेका छन् । कर्णालीको उच्च प्रदर्शनका लागि उत्साही भएर बसेको उनले बताए ।

एनपिएलको माहोल बढ्दै जाँदा समर्थकले देखाएको सद्भावप्रति कृतज्ञ रहेको कर्णाली याक्सका सह–मालिक गृहेन्द्र घिमिरेले बताए । ‘कर्णाली याक्सप्रति समर्थकले जुन प्रकारको माया देखाउनु भएको छ, यसले हाम्रो टिमलाई थप हौसला बढाएको छ । यो कार्यले एनपिएलको माहोल बढाएको जस्तो लाग्छ। यस्ता कार्यले क्रिकेटमा लगानी गर्न आउने नीजि क्षेत्रलाई पनि प्रोत्साहन हुनेछ ।’

हिमालयन विल्डर्स एन्ड इन्जियर्सले मुख्य प्रशिक्षकमा राष्ट्रिय टिमका पूर्वखेलाडी ज्ञानेन्द्र मल्ललाई अनुबन्ध गरिसकेको छ । टिमको मार्की खेलाडीमा राष्ट्रिय टिमका तीव्र गतिका बलर सोमपाल कामी छन्। यस्तै टोलीमा राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्शन झा, देव खनालसहित नन्दन यादव छन् ।

कर्णाली याक्सले विदेशी तीन खेलाडी पनि अनुबन्ध गरिसकेको छ । वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतले एनपिएपल खेल्ने पक्का भइसकेको छ । यस्तै, नेपाली अन्य खेलाडीमा ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन्। ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले कर्णाली याक्सको माहोल कर्णालीमा मात्रै नभएर काठमाडौंमा पनि बढ्दै गएको बताएका थिए । कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ। टिमको हस्पिटालिटी पार्टनरमा हिल्टन होटल रहेको छ। प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुँदैछ ।

प्रकाशित मिति : २०८१ कात्तिक २६ गते सोमबार