‘पुष्पा २’ को विशेष शोमा भागदौड हुँदा एक महिलाको मृत्यु, २ घाइते



दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन अभिनीत फिल्म ’पुष्पा २’ बिहीबारदेखि प्रदर्शन भएको छ ।

फिल्म हेर्न बिहानदेखि नै दर्शकको भिड लागिरहेको छ । त्यस्तै हैदराबादमा रिलिजभन्दा एक दिनअघि फिल्मको विशेष शो आयोजना गरिएको थियो ।

जहाँ अल्लू अर्जुनलाई हेर्न अचानक भागदौड हुँदा एक महिलाको मृत्यु भएको छ । दुई जना अन्य व्यक्ति पनि घाइते भएका छन् ।
मृतक महिलाको नाम रेवती बताइएको छ । एक पुलिस अधिकारीका अनुसार उनी एक बच्चालाई बचाउने प्रयास गरिरहेकी थिइन् । भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार दुई अन्य घाइते व्यक्तिलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।

सुकुमार बान्द्रेडीको लेखन तथा निर्देशन रहेको फिल्ममा अल्लु अर्जुन र रश्मिकासहित फरद फासिल, जगपति बाबु, धनुञ्जय, राव रमेश, सुनील लगायतको अभिनय छ । नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन् ।
एक्सन, क्राइम र ड्रामा जनराको यो फिल्मको रनटाइम ३ घण्टा २१ मिनेट छ ।

प्रकाशित मिति : २०८१ मंसिर २० गते बिहीबार