
ज्यान मार्ने उद्योग मुद्दाका एक फरार अभियुक्त लागुऔषध र अत्याधुनिक हतियारसहित सुर्खेतमा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका–८ का २३ वर्षीय विधान शाही र उनका सहयोगी २२ वर्षीय आदित्य घिमिरेलाई पक्राउ गरेको हो।
पक्राउ परेका शाही २०७८ सालमा नीरज श्रेष्ठलाई खुकुरी प्रहार गरेको घटनामा संलग्न रही फरार थिए। सोही घटनाका अन्य तीन जना पक्राउ परे पनि शाही फरार रहँदै आएका थिए।
प्रहरीका अनुसार, शाहीले फरार रहँदा नै लागुऔषधको ठूलो सञ्जाल चलाइरहेका थिए।
स्थानीयको सूचनाको आधारमा प्रहरीले बिहीबार राति वीरेन्द्रनगर–८ स्थित कृष्ण मन्दिर नजिकैको एक घरमा छापा मारी उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक सुधीरराज शाहीले बताए ।
उनीहरुको साथबाट प्रहरीले एक थान सेमी–अटोमेटिक चाइनिज पेस्तोल, दुई थान म्यागजिन, १२ राउन्ड गोली, चार थान खुकुरी, दुई थान चक्कु, एक थान बन्चरो र एक थान स्टिल स्टिक बरामद गरेको छ।
साथै, १४ सय २६ ट्याब्लेट ट्रामाडोल र नाइट्राजेपाम जस्ता लागुऔषध र प्रतिबन्धित वन्यजन्तु जरायोको सिङ एक थान पनि बरामद भएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार उनीहरुले नेपालगञ्ज सीमावर्ती क्षेत्रबाट लागुऔषध खरिद गरी सुर्खेतमा दशौं गुणा महँगोमा बेच्ने गरेको खुलेको छ।
पक्राउ परेका दुवै जनालाई लागुऔषध, हतियार तथा खरखजाना र वन्यजन्तुसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।









प्रतिक्रिया दिनुहोस्