
सुर्खेत । उद्योग वाणिज्य संघ सुर्खेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेखेको छ । कर्णालीको विकास र समृद्धिमा ध्यान दिन भन्दै संघले खुलापत्र लेखेको हो ।
कर्णाली प्रदेश, नेपालको भूगोल, प्राकृतिक स्रोतसाधन, र सांस्कृतिक धरोहरले भरिपूर्ण क्षेत्र हो । तर यस क्षेत्रको विकासको दृष्टिले यो आजसम्म पनि पछि परेको र यसको प्रत्यक्ष असर समग्र नेपालको आर्थिक उन्नतिमा परेको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले बताए ।
कर्णाली प्रदेशको विकासमा ध्यान केन्द्रित गर्न ओली नेतृत्वको सरकारले विशेष कदम चाल्ने अपेक्षासहित पत्र लेखिएको उनले बताए ।
यस्तो छ खुल्लापत्र
नेपाल सरकारका सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीज्यु
सिंहदरबार, काठमाडौँ
महोदय,
सादर नमस्कार, नमन, अभिवादन ।
कर्णाली प्रदेश, नेपालको भूगोल, प्राकृतिक स्रोतसाधन, र सांस्कृतिक धरोहरले भरिपूर्ण क्षेत्र हो, तर यस क्षेत्रको विकासको दृष्टिले यो आजसम्मपनि पछि परेको यथार्थ हामी सबैका सामु छ । यसको प्रत्यक्ष असर समग्र नेपालको आर्थिक उन्नतिमा परेको छ, जसले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा विकासको दृष्टिकोणबाट कमजोर देखाएको छ ।
कर्णाली प्रदेशको विकासमा ध्यान केन्द्रित गर्न तपाईंको नेतृत्वमा नेपाल सरकारले विशेष कदम चाल्ने अपेक्षासहित, हामी सुर्खेत उद्योग वाणिज्य संघका तर्फबाट निम्न विषयहरूमा बजेटको व्यवस्थापन र प्राथमिकता दिन अनुरोध गर्दछौंः
१.वीरेन्द्रनगर सुर्खेतस्थित हवाई धावन मार्ग (एयरपोर्ट) विस्तारमा बजेटको व्यवस्था
सुर्खेतलाई कर्णाली प्रदेशको प्रवेशद्वार मानिन्छ । हवाई मार्गको विस्तारले कर्णालीको पर्यटन र व्यापारलाई उल्लेखनीय रूपमा वृद्धि गर्नेछ ।
२. कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत् लाइन विस्तारमा रहेको अवरोध चाँडो समाधान
यो परियोजना समयमा सम्पन्न नहुँदा उद्योग, व्यापार, र स्थानीय उत्पादन प्रभावित भएको छ । यसलाई प्राथमिकतामा राखी चाँडो सम्पन्न गर्न सरकारी सहयोग आवश्यक छ ।
३. प्रदेश स्तरिय औद्योगिक क्षेत्र स्थापना
कर्णाली प्रदेशका प्राकृतिक स्रोतसाधन र मानव श्रमको प्रभावकारी उपयोगका लागि औद्योगिक क्षेत्रको स्थापना अपरिहार्य छ । यसले रोजगारी सिर्जना गर्दै प्रदेशलाई आर्थिक रूपमा सबल बनाउने छ ।
४. कोहलपुर–सुर्खेत (रत्न राजमार्ग)सडकलाई चार लेनको बनाउन बजेट व्यवस्था
यस मार्गको स्तरोन्नतिले कर्णाली प्रदेशका जिल्लाहरूलाई लुम्बिनी प्रदेश अन्य प्रदेश सँग सहज रूपमा जोड्ने छ । र, व्यापार तथा पर्यटकीय गतिविधिमा तीव्रता ल्याउने छ ।
५. सुर्खेत–रारा ताल सडकलाई कम्तीमा दुई लेनको बनाउँदै पिच गर्न बजेट व्यवस्था
रारा ताल नेपालको गौरव हो । यो सडक स्तरोन्नतिले रारालाई अन्तर्राष्ट्रिय पर्यटकको मुख्य गन्तव्य बनाउन सहयोग गर्ने छ ।
६. कर्णाली करिडोर निर्माणको लागि बजेटको व्यवस्था
कर्णाली करिडोरले प्रदेशको आन्तरिक र बाह्य व्यापारको विस्तार गर्दै आर्थिक क्रान्तिमा महत्वपूर्ण योगदान पुर्याउने छ ।
७. भेरी करिडोर निर्माणका लागि बजेटको व्यवस्था
यो मार्गले कर्णाली र तराईलाई जोड्दै व्यापार र विकासको गति बढाउने छ ।
८. हिल्सा–जमुनाहा–रुपडिया अन्तरदेशीय रोड विस्तारका लागि बजेटको व्यवस्था
अन्तरदेशीय व्यापारिक गतिविधि सहज बनाउन यो मार्गलाई चाडो भन्दा चाडो निर्माण गर्न आवश्यक छ । जसले गर्दा चिन र भारतसँग कर्णाली प्रदेशको सिधै सम्बन्ध हुने छ । पर्यटकको धेरै भन्दा धेरै कर्णाली प्रदेशमा आगमन हुने छ ।
९. सुर्खेतको रानीघाट–तेलपानी–भुरीगाँउ सडक स्तरोन्नतिका लागि बजेटको व्यवस्था
स्थानीय जनताका लागि यो सडक लाइफलाइन हो । यसलाई पक्की पुलसहित सडक बनाउन बजेटको ब्यवस्थापन चाडो भन्दा चाडो गर्न आवश्यक छ ।
१०. कर्णाली प्रदेशमा पूर्वाधार बैंक र लगानी बोर्डको शाखा स्थापना
स्थानीय स्तरमा आर्थिक योजनाहरूको सञ्चालन सहज बनाउन यस्तो संस्थाको स्थापना जरुरी छ ।
११. सुर्खेत उद्योग वाणिज्य संघद्वारा स्थापित जडीबुटी तथा प्रशोधन केन्द्रका लागि बजेटको व्यवस्था
कर्णाली प्रदेश जडीबुटीको भण्डार हो । यस केन्द्रलाई सहयोग गरेमा स्थानीय उत्पादनमा मूल्य अभिवृद्धि गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार विस्तार गर्न सकिने छ ।
प्रधानमन्त्रीज्यू,
यदि माथि उल्लेखित प्रस्तावलाई सरकारले प्राथमिकता दिएर सम्बोधन गर्ने हो भने कर्णाली प्रदेशलाई विश्वकै उत्कृष्ट पर्यटकीय र आर्थिक गन्तव्य बनाउन सकिन्छ । यसले “समृद्ध नेपाल, सुखी नेपाली’’को राष्ट्रिय लक्ष्य प्राप्तिमा टेवा पुर्याउने छ ।
आसा छ, तपाईंको कुशल नेतृत्वमा कर्णाली प्रदेशको विकासले नयाँ गति लिने छ ।
सादर,
सुर्खेत उद्योग वाणिज्य संघ
अध्यक्ष
लक्ष्मण कंडेल
बिरेन्द्रनगर, सुर्खेत
प्रतिक्रिया दिनुहोस्