जगदुल्ला हाइड्रोपावरको नयाँ ठेक्का प्रक्रिया सुरु



सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी लिमिटेड (भीयूसीएल) को सहायक कम्पनी जगदुल्ला हाइड्रोपावर लिमिटेडले ठेक्का रद्द गरेको दुई सातामै पुनः ठेक्का आह्वान गरेको छ । सरकारले नै डोल्पामा बनाउन लागेको १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का गत पुस २२ मा रद्द भएको सूचना जारी गरेको थियो ।

कम्पनीले गत जेठ २० मा सिभिल र हाइड्रोमेकानिकलतर्फको ठेक्का आह्वान गरेको थियो । उक्त ठेक्काका लागि हाई हिमालयन हाइड्रो र एजीई कम्पनीको जेभी, झोङदिङ इन्टरनेसनल, पटेल इन्जिनियरिङ, लामा कन्स्ट्रक्सनलगायत सात कम्पनीले आवेदन दिएका थिए । तर प्राविधिक प्रस्तावमा कुनै पनि कम्पनी पास नभएपछि ठेक्का रद्द गरिएको जगदुल्ला कम्पनीको दाबी छ ।

कम्पनीले फेरि आइतबार एक सूचना जारी गर्दै जगदुल्लाको सिभिल र हाइड्रोमेकानिकलतर्फको १६ अर्ब रुपैयाँमा आयोजनाको पुनः ठेक्का आह्वान गरेको हो । खरिद प्रक्रियालाई अझै सरल र स्पष्ट बनाएर पुनः नयाँ ठेक्का आह्वान गरिएको जगदुल्ला प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जनाए ।

‘खरिद प्रक्रियालाई यस पटक स्पष्ट र सरल बनाएका छौं, पहिला बिडरहरूले नबुझेको भन्ने पनि देखिन्छ,’ उनले भने, ‘यस पटक ८/१० जना आउँछन् कि भन्ने लाग्छ ।’ कम्पनीले सार्वजनिक गरेको अहिलेको ठेक्काको सूचनाअनुसार दुई वटा बुँदामा संशोधन गरेको पाइएको छ ।

कम्पनीले आह्वान गरेको सूचनामा पछिल्ला १० वर्षमा कम्तीमा ३ वर्ष ३ करोड ४० लाख डलरको कारोबार गरेको हुनुपर्ने उल्लेख छ । इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन (ईपीसी)/प्लान्ट एउटा डिजाइनमा कम्तीमा एउटा ठेक्कामा ४ करोड डलरभन्दा बढीको काम गरेको अनुभव हुनुपर्ने सूचनामा भनिएको छ ।

यसअघि ठेक्का आह्वान गर्दा पछिल्ला १० वर्षमा कम्तीमा ३ वर्षमा ३ करोड ५० लाख डलरको कारोबार गरेको हुनुपर्ने उल्लेख थियो । इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन (ईपीसी)/प्लान्ट एउटा डिजाइनमा कम्तीमा एउटा ठेक्का ४ करोड १० लाख डलरभन्दा बढीको काम गरेको अनुभव हुनुपर्ने व्यवस्था गरिएको थियो ।

सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को नियमभित्र रहेर यस पटक ‘क्राइटेरिया’ परिवर्तन गरेर सहज बनाइएको समेत सापकोटाको भनाइ छ । ‘यस पटक क्राइटेरिया नै परिवर्तन गरेका छौं, सहज बनाएका छौं, मापदण्ड लचिलो बनाएका छौं,’ उनले भने, ‘पहिलाका कुनै पनि पास भएका थिएनन्, यस पटक पहिलाका पनि पास हुन सक्छन् । नयाँ पनि आउन सक्ने भए ।’ यसअघि आवेदन दिएका कम्पनीसँग प्राविधिक रूपमा तोकिएका सर्टिफिकेट/डकुमेन्ट छन् भने फेरि आवेदन दिन सक्ने सापकोटाले प्रस्ट्याए ।

जगदुल्लामा ऊर्जामन्त्री दीपक खड्काले आवेदन दिएका सबै कम्पनीलाई किनारा लगाएर हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन र एजीईलाई ठेक्का दिलाउने गरी मिलेमतोमा मध्यस्थता गरेको आरोप लागेको छ ।

१६ अर्बको ठेक्का पाउने कम्पनीले अरू चार कम्पनीलाई एक/एक प्रतिशतका दरले १५/१५ करोड दिने र मन्त्रीलाई दुई प्रतिशत दिने गरी लेनदेन भएको विषयमा अख्तियारले अनुसन्धान गरिरहेको छ । अख्तियारमा अनुसन्धान गरिरहेको विषयमा भने केही जानकारी नआएको सापकोटाले बताए ।

‘अख्तियारबाट हामीलाई खबर आएको छैन । भोलि गएर रोक्नुस्, नगर्नू भन्यो भने रोकिन्छ, त्यो छुट्टै भयो,’ सापकोटाले भने । अघिल्लो पटक विवादमा परिसकेकाले सकेसम्म पारदर्शी र कुनै समस्या नआउने गरी ठेक्का प्रक्रिया अघि बढाइएको उनको भनाइ छ ।

जगदुल्लाको कुल लागत २३ अर्ब रुपैयाँ अनुमानित गरिएको छ । उक्त आयोजनामा नबिल बैंकले ४ अर्ब ४० करोड, कर्मचारी सञ्चय कोषले ४ अर्ब, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले ४ अर्ब, लक्ष्मी सनराइज बैंकले २ अर्ब र एभरेस्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् ।

प्रकाशित मिति : २०८१ माघ ९ गते बुधबार