कृषि क्षेत्र विकास कार्यक्रमले फेरियो लेकबेशीका किसानको जीवन



पाँच वर्षअघि, सुर्खेतको लेकबेशीका किसानहरूका लागि कृषि कर्म केवल जीवन धान्ने एउटा माध्यम मात्र थियो । तै पनि उत्पादन भएको कृषि बस्तुले उनीहरुलाई वर्षभरी खान पुग्दैनथ्यो ।

पसिना बगाउँथे तर, आत्मनिर्भर बन्न सकेका थिएनन् । उत्पादन भएको तरिकारी तथा दुध बजारसम्म लिन सकेका थिएनन् । उचित मूल्य पाउँथेनन् ।

अहिले समय फेरिएको छ । उही माटोमा सुन फलाउँदैछन्, उनीहरू अहिले खानका लागि मात्र होइन् बिक्री गरेर लाखौँ आम्दानी गर्ने भएका छन् ।

यो परिवर्तनको पछाडि एउटा सफल कार्यक्रमको कथा जोडिएको छ— कृषि क्षेत्र विकास कार्यक्रम ।

यो कार्यक्रम कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत ०७५ सालदेखि कर्णालीमा स्थानीय तहरुमा लागु भएको थियो ।

कृषि क्षेत्र विकास कार्यक्रम कृषि विकासका लागि अन्तराष्ट्रिय कोष (IFAD) संगको साझेदारिमा सञ्चालित छ । यसकाे लक्ष्य कर्णालीको गरिबी र पोषण असुरक्षा घटाउने छ ।

यो कार्यक्रम अन्तर्गत लेकबेशीका किसानहरु साँच्चिकै अहिले आत्मनिर्भरताको बाटोमा लम्किएका छन् ।

कृषि मूल्य श्रृंखला, बाली वा वस्तुहरुको व्यवसाय उन्मुख उत्पादन र बजारिकरण प्रणालीमा संलग्न साना कृषक तथा सिमान्तकृत/पिछडिएका समूहहरुको आय तथा खाद्य सुरक्षामा दिगो सुधार ल्याउनु कार्यक्रमको उद्देश्य रहेको बताउँछन्, कार्यक्रमका पोषण अधिकृत रुद्रप्रसाद आचार्य ।

उनका अनुसार लेकबेशीका वडा नम्बर ३, ४ मा खसी बोका, ६ र ७ मा बेमौसमी तरिकारी तथा ८, ९, १० मा  दुग्ध मुल्य श्रृङ्खला अन्तर्गतका कार्यक्रम गरिएका छन् ।

स्थानीय समुदायको सक्रियतामा कृषि क्षेत्रको विकास र आधुनिकीकरणका लागि विभिन्न महत्त्वपूर्ण पूर्वाधार संरचनाहरू निर्माण सम्पन्न भएका छन् । पशुपालन, सिँचाइ तथा आधुनिक खेती प्रणालीलाई प्रत्यक्ष सघाउ पुर्याउने उद्देश्यले निर्माण गरिएका यी संरचनाबाट ३५ वटा समुहका ९०२ किसानहरु लाभान्वित भएका छन् ।

विवरणअनुसार, पशुपालनलाई व्यवस्थित र व्यावसायिक बनाउन १६ वटा समूह बनाए ३६३ वटा भकारो निर्माण गरिएको छन् । यसैगरी, १४ वटा समूहले ३२९ वटा बाख्राको खोर निर्माण तथा मर्मत गरेका छन्, जसले पशु स्वास्थ्य र उत्पादनमा सुधार ल्याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

आधुनिक तथा बेमौसमी खेतीतर्फ किसानहरूलाई आकर्षित गर्न ५ वटा समूहका लागि १०० वटा प्लास्टिक टनेल निर्माण गरिएको छ । साथै, खेतीलाई सहज र छिटो बनाउन किसानहरूलाई ५ वटा मिनीट्रिलर समेत उपलब्ध गराइएको छ।

सिँचाइ सुविधा विस्तार गर्ने अभियान अन्तर्गत सबैभन्दा ठूलो लगानी भएको छ । २३ वटा किसान समूहको सहकार्यमा कुल ५ हजार ८२७ मिटर मुख्य कुलो र १ हजा १११ मिटर सहायक कुलो निर्माण गरिएको छ ।

साथै, पानीको पहुँच नपुग्ने ठाउँका लागि १ हजार २३० मिटर सिँचाइ पाइप जडान गरिएको छ भने पानी सङ्कलनका लागि १३ वटा नयाँ पोखरी निर्माण गरिएको छ ।

यी संरचनाहरूको निर्माणले समुदाय स्तरमा कृषि उत्पादन बढाउन, किसानको आयआर्जनमा सुधार ल्याउन र खाद्य सुरक्षामा योगदान पुर्याउन महत्वपूर्ण भूमिका खेलेको आचार्यले बताए ।

आचार्य भन्छन्, ‘हामीले बीउ मात्र छरेनौँ, किसानको सपनालाई सिञ्चित गर्ने पूर्वाधारको जग बसायौँ ।’ लेकबेशीको कृषि रूपान्तरणको अर्को सुन्दर पाटो हो— महिला सशक्तीकरण ।

दिनभरि घाँस–दाउरा र मेलापातमा समय बिताउने महिलाहरूको हातमा अहिले आधुनिक च्यापकटर, ब्रसकटर, स्प्रेयर र एकपाङ्ग्रे ठेलागाडाजस्ता उपकरण पुगेका छन् । ‘महिलाहरूको कार्यबोझ न्यूनीकरण सहयोग कोष’ अन्तर्गत कुल ११ वटा समूहलाई १६३ थान आधुनिक कृषि उपकरण तथा मेसिन हस्तान्तरण गरिएको हो ।

यस्ता उपकरणले उनीहरूको पसिनाको मूल्यलाई सम्मान गरेको छ । यी मेसिनले उनीहरूको समय मात्र बचाएका छैनन्, उनीहरूलाई निर्णय प्रक्रिया र आर्थिक उपार्जनमा समेत अग्रसर गराएका छन् ।

यी मेसिनहरुको प्रयोगले महिलाहरुको दैनिक कृषि कार्यमा लाग्ने समय र श्रम बचत हुने, काम छिटो र सहज हुने, र अन्ततः उनीहरुको जीवनस्तरमा सुधार आएको दाबी आचार्यको छ ।

कार्यक्रमको मुख्य उपलब्धिअनुसार किसानहरूले गरेको प्रति १ रुपैयाँ लगानीमा रु.२.४९ बराबरको प्रतिफल प्राप्त गर्न सफल भएका छन् ।

तथ्याङ्क अनुसार, यस क्षेत्रमा उत्पादनका लागि गरिएको कुल ५ करोड ५१ लाख ६३ हजार ७९३ रुपैयाँको लगानीबाट किसानहरूले १३ करोड ७३ लाख ५७ हजार ८४५ बराबरको आम्दानी गरेका छन्, जसले कार्यक्रमको प्रभावकारितालाई स्पष्ट पार्दछ ।

यसका साथै, कार्यक्रममार्फत १ हजार ३८७ रोपनी जमिनमा नियमित सिँचाइको व्यवस्थापन भएको छ, जसले कृषि उत्पादन बढाउन मद्दत पुगेको छ । कृषि क्षेत्रमा महिला सशक्तीकरणको सूचक ०.७५ पुग्नुले महिलाहरूको निर्णय प्रक्रिया र स्रोतमाथिको पहुँचमा सुधार आएको देखाउँछ ।

त्यस्तै, ७० प्रतिशत घरधुरीले न्यूनतम खाद्य विविधता हासिल गरेका छन्, जसले पोषण स्थितिमा सकारात्मक परिवर्तन आएको सङ्केत गर्छ । कार्यक्रमअन्तर्गत ९४ सदस्यहरूलाई वित्तीय संस्थासँग जोडेर ४ करोड ८९ लाख १० हजार बराबरको ऋण पहुँचमा सहयोग पुर्‍याइएको छ, जसले उनीहरूलाई आफ्नो कृषि व्यवसाय विस्तार गर्न थप सहज भएको छ ।

कार्यक्रमका पोषण अधिकृत रुद्रप्रसाद आचार्यका अनुसार लेकबेशीमा सबै कार्यक्रम अन्तर्गत पाँच वर्षमा कृषि क्षेत्र विकास कार्यक्रमको ७ करोड ८० लाख लगानी भएको छ भने सोही मात्राका स्थानीयले लगानी गरेका छन् ।

कार्यक्रमको जिम्मा अब स्थानीय सरकारलाई

कृषि क्षेत्र विकास कार्यक्रम अन्तर्गत सञ्चालित आयोजनाहरूको सम्पूर्ण जिम्मेवारी अब लेकबेशी नगरपालिकालाई सुम्पिएको छ ।

सोमबार आयोजित एक समारोहमा, परियोजनाको अवधि समाप्त भएसँगै ती कार्यक्रमहरू औपचारिक रूपमा स्थानीय तहलाई जिम्मा लगाइएको हो ।

कार्यक्रम कार्यान्वयन कार्यालय, सुर्खेतका पोषण अधिकृत रुद्रप्रसाद आचार्यका अनुसार, परियोजनाको समयावधि सकिएकाले पालिकास्तरमा सञ्चालित गतिविधिहरू अब नगरपालिकाले नै अघि बढाउने छ ।

समारोहमा बोल्दै कार्यक्रमका मूल्य शृंखला विज्ञ विजय वाग्लेले हस्तान्तरित उप–आयोजनाहरूको निरन्तरताका लागि समुदाय तथा स्थानीय निकायको अपनत्व अपरिहार्य रहेको औँल्याए ।

उनले भने, ‘आयोजनाहरूको सफल कार्यान्वयन, कृषि मूल्य शृंखलाको अभिवृद्धि र सहकारीहरूको संस्थागत सबलीकरण अबको मुख्य प्राथमिकता हुनुपर्छ ।’

अपनत्वको भावनाले मात्र परियोजनाहरूको दिगो संरक्षण र सदुपयोग सुनिश्चित हुने उनको धारणा थियो । स्थानीय अर्थतन्त्रको आधारस्तम्भका रूपमा रहेका सहकारीहरूको सुदृढीकरणले मात्र ग्रामीण विकासले गति लिने उनको भनाइ थियो ।

छलफलमा किसानलाई प्रत्यक्ष लाभ पुर्‍याउने ‘सामुदायिक कृषि प्रसार सेवा केन्द्र’हरूको सेवालाई निरन्तरता दिने विषयमा पनि जोड दिइयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पहलमान अधिकारीले कार्यक्रमले लेकबेशीका विभिन्न सूचकमा सकारात्मक परिवर्तन ल्याएको र नागरिकको आर्थिक अवस्था सुध्रिएको बताए ।

त्यसैगरी, नगरप्रमुख उमेश कुमार पौडेलले कार्यक्रमले पालिकाको कृषि क्षेत्रमा उल्लेख्य रूपान्तरण ल्याएको र किसानहरू आत्मनिर्भरतातर्फ अग्रसर भएको उल्लेख गरे ।

अब नगरपालिकाले ती सफल अभ्यासलाई आत्मसात् गर्दै किसानलाई आत्मनिर्भर बनाउने योजनामा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : २०८२ असार २४ गते मंगलबार