
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले चालु आर्थिक वर्षका ८० प्रतिशत आयोजनाहरु कार्यान्वयनमा गइसकेको बताएका छन् ।
समयका आयोजना सम्पन्न गर्ने उद्देश्यसहित समयमै आयोजना कार्यान्वयनका लैजाने कुरामा सरकार सचेत रहेको उनको भनाइ छ ।
बजेट वितरण, आयोजना छनोट र सरकारी पारदर्शीदा सम्बन्धी जनगुनासोहरूप्रति ध्यानाकर्षण गराउँदै शनिबार वीरेन्द्रनगरका आयोजित प्रेस चौतारीको कार्यक्रममा कँडेलले भने, ‘हामीले जे बजेट प्राप्त गरेका छौं, त्यसको सही उपयोग र पारदर्शी वितरणमा जोड दिएका छौँ ।’
आलोचना भइरहेपनि आयोजनाहरू समयमा सम्पन्न गर्न प्रदेश सरकार कटिबद्ध रहेको पनि बताए । कर्णालीको आर्थिक अवस्था, विकासका अवरोधहरू र पत्रकारिताको भूमिकाबारे धारणा राख्दै कँडेलले प्रदेश सरकार दिगो विकासको लक्ष्यमा अघि बढीरहेको पनि बताए ।
‘कर्णालीलाई आत्मनिर्भर बनाउन कृषि, पर्यटन, जलस्रोत र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ,’ उनले भने, ‘सरकारले स्थानीय स्रोत साधनको परिचालन, लगानी प्रवद्र्धन र रोजगारी सिर्जनाका क्षेत्रमा नीति परिवर्तन गर्दै लगानी अभिवृद्धि गर्नेतर्फ ध्यान केन्द्रित गरिरहेको छ ।’
मुख्यमन्त्री कँडेलले सञ्चारमाध्यमहरूले जिम्मेवार पत्रकारिता गर्दै प्रदेश सरकारका प्रयासहरूलाई समेत उजागर गर्न आग्रह गरे । उनले विकास निर्माणलाई तीव्रता दिँदै प्रदेशलाई समृद्ध बनाउने संकल्पसहित अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
साथै उनले नागरिकलाई उत्साह जगाउने समाचार संप्रेषण गर्नुपर्ने बताए ।









प्रतिक्रिया दिनुहोस्