जाजरकोटः गाउँपालिकाको नक्कली छाप र रसिदसहित दुई जना पक्राउ



सुर्खेत । जाजरकोटको जुनिचाँदे गाउँपालिकाको नक्कली छाप, लेटरप्याड र नगदी रसिद बनाएर अवैध रूपमा राजस्व संकलन गर्दै आएका दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुनिचाँदे गाउँपालिका वडा नम्बर २ का २३ वर्षीय पारश शाही र वडा नम्बर ११ का २१ वर्षीय यज्ञेश्वर बहादुर शाही रहेका छन्।

ईलाका प्रहरी कार्यालय वडावन र प्रहरी चौकी जुनिचाँदेको संयुक्त टोलीले छेडागाड नगरपालिका वडा नं. ६, राहदेउस्थित सडकखण्डबाट उनीहरूलाई पक्राउ गरेको हो। उनीहरू लामो समयदेखि नक्कली छाप र कागजात प्रयोग गरी जिल्लाबाट बाहिर जान तयार रहेका जडिबुटी तथा खनिजजन्य सामग्री लोड भएका सवारी साधनहरू रोकेर कर संकलन गर्दै आएको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए।

प्रहरीले जुनिचाँदे गाउँपालिकाको नक्कली कार्यालय छाप, अनुसूची १०१ अन्तर्गतको मलेप फाराम नम्बर ११ आम्दानी रसिद, जडिबुटी तथा खनिज पदार्थ चेकजाँच सिफारिससम्बन्धी पत्र, रसिद नं. ४३९ सहितको कर संकलन रसिदलगायतका नक्कली कागजातहरू बरामद गरेको छ। उनीहरूलाई जाजरकोट जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ जेठ ७ गते बुधबार