
सुर्खेत । विभिन्न पार्टीमा आबद्ध महिला नेतृहरुले अझैपनि महिलाहरुमाथि हुने विभेद कायमै रहेको बताएका छन् ।
आइतबार अन्तरपार्टी महिला सञ्जाल सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रमका उनीहरुले यस्तो बताएका हुन् ।
‘सबै महिला तथा बालिकाको लागि अधिकार समानता र सशक्तिकरण’ भन्ने मुल नारा रहेको उक्त कार्यक्रमका नेकपा एमाले नेतृ, वीरेन्द्र्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले महिलाहरुमाथि हुने हिंसा अहिले पनि नरोकिएको बताइन् ।
‘अहिले विश्वभर महिलाहरुले अधिकारकै लागि आवाज उठाउनु परेको छ,’ ढकालले भनिन्, ‘नेपालमा महिलाहरुले आफ्नो अधिकारको लागि लड्न सक्ने हिम्मत जुटाउन आवश्यक छ ।’
पछिल्लो समय महिलाहरु सशक्त हुँदै गएका उनको बुझाइ छ । यद्यपि हिंसाका घटनाहरु पनि रोकिएका छैनन् । विद्युतीय अपराध बढ्दै गएको र त्यसको मारमा महिलाहरु धेरै पर्ने गरेको ढकालको भनाइ छ ।
पुरुष सत्ता हावी भएकोतर्फ संकेत गर्दै उनले भनिन्, ‘पुरुषले चुनाव जित्दा प्रमाणित गर्न नपर्ने, महिलाले जित्दा प्रमाणित गर्नु परेको छ ।’
महिला, अधिकार, महिला सशक्तिकरण र समानताका लागि अझैपनि लड्न आवश्यक रहेको नेकपा माओवादी केन्द्र निकट अनेमसंघ क्रान्तिकारीका प्रदेश अध्यक्ष ललिता रेग्मीले बताइन् ।
दिवस मनाउन थालिएको लामो समय भएपनि अझैपनि विश्वभरका महिलाले समानता र आफ्ना अधिकारका लागि आवाज उठाइरनु परेको उनको भनाइ छ ।
संविधान सभा सदस्य समेत भइसकेकी रेग्मीले राजनीतिक दल, निर्वाचनमा महिला उम्मेदवारमा अझैपनि महिलाहर प्राथमिकतामा नपर्ने गरेको बताइन् ।
सबैतर्फ महिला सहभागीतालाई बढाउनुपर्ने उनले बताइन् ।
एमाले निकट अनेमसंघका प्रदेश अध्यक्ष पद्मा खड्काले अझैपनि महिला सशक्तिकरणका लागि संघर्ष गर्नुपर्ने बताइन् ।
अन्तरपार्टी महिला सञ्जाल कर्णाली प्रदेश अध्यक्ष डिलु खडकाले महिलाहरु आफैपनि सशक्त हुनुपर्ने बताइन् ।
कार्यक्रमका नेपाल महिला संघका जिल्ला सभापति पार्वति गिरी, जिल्ला प्रहरी कार्यालय सुर्र्खेतका प्रहरी नायव निरीक्षक संगिता रसाइली, लगायत राजनीति दलमा आबद्ध महिलाहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमको सञ्चालन अन्तरपार्टी महिला सञ्जालका कोषाध्यक्ष रुपा भण्डारीले गरेकी थिइन् ।










प्रतिक्रिया दिनुहोस्