जब खुट्टा लामो पार्ने शल्यक्रिया असफल भयो



इलेन फूको खुट्टामा बैगुनी रङका बाक्ला-बाक्ला निसान छन्, जसले खुट्टा लामो बनाउने मेडिकल प्रक्रियाको भयानक दुर्घटना सम्झाउँछन् ।

सन् २०१६ यता ४९ वर्षीया इलेनको पाँच सर्जरी र तीन बोन ग्राफ्ट भइसकेको छ । यसो गर्दा उनको जीवनभरको कमाइ सकियो । आफ्ना सर्जनविरुद्ध मुद्दा हाल्न उनी बाध्य भइन् । यद्यपि, गत जुलाईमा यो मुद्दा चिकित्सकलाई जिम्मेवार नठहर्‍याई टुंगिएको छ ।

एकपल्ट, उपचारका क्रममा एउटा धारिलो मेटल खुट्टाको हड्डीमा पसेको थियो । अर्कोपल्ट, उनलाई आफ्नो खुट्टा भित्रभित्रैबाट असह्य तरिकाले पोलेको महसुस भएको थियो ।

इलेन भन्छिन्, ‘मेरो यात्रा अग्नि परीक्षाजस्तो रह्यो तर म बाचेँ ।’

उनको उपचारमा संलग्न डाक्टरले आफूबाट कुनै पनि लापर्वाही भएको कुरा कहिल्यै स्वीकारेनन् । बरु केही जटिलताबारे आफूले पहिल्यै चेतावनी दिएको र इलेनकै कार्यले समस्या पैदा भएको दाबी गरे ।

foo-1723463701.jpg

आफ्नो उचाइलाई लिएर इलेन निकै चिन्तित थिइन् । उनका अनुसार, १२ वर्षको उमेरसम्म उनी आफूसमानका युवतीको तुलनामा अग्ली थिइन् । तर, १४ वर्षकी हुँदा उनी अचानक होची देखिन थालिन् । समयसँगै आफूमा अग्ली हुने चाहना बढेको इलेन बताउँछिन् । उनलाई लाग्थ्यो, अग्ली हुनुको अर्थ उत्कृष्ट र सुन्दर हुनु हो । अग्ला मानिसका लागि अवसर पनि धेरै हुने उनको धारणा थियो ।

वयस्क भएपछि उनको इच्छा अझै बढेर आयो ।

इलेनलाई बडी डिस्मर्फिया थियो । यो एक मानसिक समस्या हो, जसमा व्यक्तिलाई आफूमा दोष रहेको लाग्छ, भलै अरु मानिसले उसलाई जुनसुकै तरिकाले नियालून् । यसको असर निकै विनाशकारी हुन सक्छ ।

२५ वर्षको उमेरमा इलेनले खुट्टा लामो पार्ने चिनियाँ क्लिनिकका बारेमा लेख पढिन् । उक्त क्लिनिकमा मानिसहरू आफ्नो खुट्टाको हड्डी लामो पार्न शल्यक्रिया गराइरहेका थिए । लेखमा लामा खुट्टादेखि ठूलो मात्रामा संक्रमणबारे विस्तृत जानकारी दिइएको थियो । इलेनलाई यो कुनै भयानक सपनाजस्तो लागेको  थियो तर उनी यसप्रति आकर्षित भइन् ।

इलेन भन्छिन्, ‘मान्छेले यसमा प्रश्न उठाउँछन् भन्ने मलाई थाहा छ तर डिस्मर्फियाबाट पीडित भएकालाई यति खराब महसुस किन हुन्छ, यसको कुनै तार्किक जवाफ हुँदैन ।’

यो घटनाको १६ वर्षपछि इलेनलाई लन्डनस्थित निजी क्लिनिकबारे थाहा भयो, जहाँ यस्तै खालको सर्जरी हुन्थ्यो ।

यहाँका अर्थोपेडिक सर्जन जीन–मार्क गुइचेत थिए, जो हड्डी लम्ब्याउने क्रियाका विशेषज्ञ थिए । उनले उपकरण गुइचेत नेल पनि आविष्कार गरेका थिए ।

इलेन भन्छिन्, ‘लन्डनमै सर्जरी हुन सक्ने जानकारी पाएको पल मेरा लागि निकै खुसीयुक्त थियो ।’

उनलाई आफू सर्जरी गरेर घरमै ठीक हुन सक्ने आशा थियो । डा. गुइचेतले यसको जटिलताबारे खुलेर भनेका थिए । जस्तै, नसामा क्षति, रगतको थक्का जम्नु, हड्डी फेरि नजोडिनु आदिबारे ।

‘तर मैले धेरै रिसर्च गरेकी थिएँ । त्यसमाथि निकै महँगो डाक्टरलाई देखाउन जाँदै थिएँ । त्यसैले मलाई उनीबाट धेरै अपेक्षा थियो । मेरो सपना थियो, ५ फिट २ इन्चबाट ५ फुट ५ इन्च अग्ली हुने ।’

elain-foo-london-1723463741.jpg

खुट्टा लामो गराउने मेडिकल सुविधा सामान्य होइन । तर, यो मेडिकल प्रक्रिया संसारका कैयौँ निजी अस्पतालमा उपलब्ध छ । यसको खर्च १६ लाख रुपैयाँदेखि डेढ करोड रुपैयाँसम्म हुन सक्छ  । इलेन भन्छिन्, ‘सर्जरीपछि आँखा खुल्दा म निकै उत्साहित थिएँ । मलाई कुनै दुखाइ थिएन । यस्तो लाग्यो, मलाई केही नै भएको छैन । तर, ९० मिनेटपछि मेरो खुट्टामा असह्य दुखाइ सुरु भयो । भित्रबाट खुट्टा जलिरहेको महसुस हुन थाल्यो । म बिहान ६ बजेसम्म कराइरहेँ । कराउँदा कराउँदै निदाएछु ।’

यस प्रक्रियामा धेरथोर दुखाइ हुन्छ, किनकि हड्डीलाई दुई हिस्सामा फुटाएर बीचमा मेटलको रड लगाइएको हुन्छ ।

मेटलको रडलाई लम्बाइ बढाउन र हड्डीको दुवै भागलाई अलग गर्न बिस्तार–बिस्तार बढाइन्छ । यो प्रक्रिया बिरामीको उचाइ बढाउनका लागि गरिन्छ । दुई भागमा विभाजित हड्डी बिस्तारै जोडिनुपर्छ, ताकि बीचको खाली पुरियोस् । सामान्यतया हड्डीका दुवै भाग फेरि जोडिन्छन् र बीचको खाली ठाउँ भरिन्छ । यो केवल सुरुवात हुन्छ तर यसको अपरेसन निकै जटिल हुन्छ ।

ब्रिटिस अर्थोपेडिक एसोसिएसनका पूर्वप्रमुख प्रोफेसर हामिस सिम्पसन भन्छन्, ‘यो प्रक्रियामा दुईदेखि तीन महिना लाग्छ । यसको दुई गुणा समय पूर्ण रूपमा ठीक हुन लाग्छ । अधिकांश मानिसमा यसका लागि एक वर्षको समय लाग्छ ।’

सर्जरी सकिएपछि इलेनले खुट्टा लामो पार्न कष्टकर ब्यायाम गरिन् । रडलाई पूर्णतः फिट गर्न उनले यसो गरेकी थिइन् । तर, यसपछिको चरण उनका लागि निकै पीडादायक बन्यो । उनी भन्छिन्, ‘मलाई खुट्टामा अथाह पीडा हुन्थ्यो । एक रात ओछ्यानमा म निदाउन नसकेर छटपटिइरहेको बेला केही चुट्टिएको, केही छुट्टिएकोजस्तो आवाज आयो । यसपछि असहनीय दुखाइ सुरु भयो ।’

भोलिपल्ट स्क्यान गर्दा इलेनको डर सही साबित भयो । उनको बायाँ खुट्टामा लगाइएको नेल हड्डीलाई चिरेर बाहिर निस्केको थियो । फिमर शरीरको सबैभन्दा बलियो हड्डी हो ।

इलेन चिन्तामा परिन् । तर डा. गुइचेतले उनलाई सान्त्वना दिए । इलेनका अनुसार, डाक्टरले ‘डराउनु पर्दैन, घाउ पुरिने प्रतीक्षा गर्नुपर्छ, पछि एकपल्ट फेरि प्रक्रिया सुरु हुनेछ’ भनेर सम्झाए ।

तर, यस क्रममा इलेनको दाहिने खुट्टाको प्रक्रिया जारी रह्यो । बायाँ खुट्टाको सर्जरीको तारिख तय गरियो । यसका लागि अपरेसनमा अतिरिक्त पैसा खर्च हुने उनलाई थाहा थियो । तैपनि यो प्रक्रिया पूरा हुने आशाले उनी खुसी थिइन् ।

सेप्टेम्बरसम्म उनको दाहिने खुट्टा ७ सेन्टिमिटरसम्म बढ्यो । तर, यो सामान्य तरिकाले भइरहेको थिएन । उनको दुई खुट्टा छोटो–लामो थिए, जसबाट उनको रिढको हड्डी बाङ्गो भयो । यसो हुँदा उनलाई लगातार दुखाइ भइरह्यो । ६ सातापछि भएको स्क्यानबाट थाहा भयो, उनको दाहिने खुट्टाको बढ्ने क्रम रोकिएको थियो । यो खुट्टामा फिमरका दुई टुक्रा रडसँग जोडिएका थिए ।

इलेनले डाक्टरसँग भेट्दा उनले अर्को अपरेसन मिलानको क्लिनिकमा तय गरे । अप्रिल २०१७ मा उनले इलेनको बायाँ खुट्टा अग्ल्याउने प्रक्रिया थाले । यस क्रममा दाहिने खुट्टामा बोन म्यारो हालियो ताकि हड्डीको विकासलाई प्रेरित गर्न सकियोस् ।

अपरेसनपछि चेत खुल्दा इलेनलाई दिइएको खबर सुखद थिएन ।

उनी भन्छिन्, ‘डा. गुइचेतले मलाई नेल निकालिरहेका बेला भाँचिएको खबर सुनाए । उनीसँग कुनै अर्को बिरामीको नेल थियो, जुन उनी मेरो खुट्टामा लगाउनेवाला थिए । तर यसमा अझै पैसा खर्च हुन्थ्यो ।’

तीन दिनसम्म पनि इलेन हिँडडुल गर्न सकिरहेकी थिइनन् । उनी चाँडै घर जान चाहन्थिन्, त्यसैले लन्डन फर्किइन् । उनका अनुसार, डा. गुइचेतसँग कुराकानीमा निकै नोंकझोंक भयो । त्यसपछि डाक्टर–बिरामीको सम्बन्ध टुट्यो ।

आफू पीडित भएको भनी कोसँग मद्दत माग्न जाने भन्ने इलेनलाई थाहा थिएन । जुलाई २०१७ मा उनले एक स्पेसलिस्ट अर्थोपेडिक सर्जनलाई भेटिन् ।

सर्जनले उनलाई पूर्णतः ठीक हुन कम्तीमा पाँच वर्ष लाग्ने बताए । त्यो तारिखमा इलेनको पहिलो सर्जरी भएको ८ वर्ष भइसकेको थियो । उनी अझै मेडिकल प्रक्रियामा भएको शारीरिक र मानसिक प्रताडनाबाट बाहिर आउने कोसिस गरिरहेकी थिइन् ।

उनलाई शारीरिक गतिविधिमा धेरै खालका समस्या थिए । उनी पोस्ट ट्रमेटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) बाट पीडित भइन् ।

उनी भन्छिन्, ‘२०१७ देखि २०२० सम्म म सबैबाट लुकेँ । एक्ली अनि बेरोजगार थिएँ । म एक–एक पैसाका लागि तड्पिने भइसकेकी थिएँ । अपाङ्ग थिएँ ।’ तर गत जुलाईमा गल्तीको जिम्मेवारी नलिई पैसा दिएर डा. गुइचेत घटना सल्टाउन तयार भएपछि चार वर्षको कानुनी लडाइँ सकियो ।

सर्जनका वकिलले आफ्नो क्लाइन्टको तर्फबाट कुनै पनि लापर्वाही नभएको भन्दै खण्डन गरे । र, अदालतमा फ्र्याक्चर र ढिलो गरी हड्डी बढ्नु दुर्भाग्य रहेको तर्क गरे । उनले इलेनमाथि नेल बढाउने प्रयास गरेको र डाक्टरलाई नसोधी एन्टी डिप्रेसेन्ट दबाइ खाएको आरोप लगाए । सर्जरीभन्दा पहिले बिरामीलाई यससँग जोडिएका सबै जटिलताबारे बताइने उनको भनाइ थियो । फिजियोथेरापी र अन्य ब्यायामबारे डा. गुइचेतको सुझावलाई इलेनले नमानेको पनि वकिलको आरोप थियो ।

इलेनले यी सबै दाबीको खण्डन गरिन् । एन्टी डिप्रेसेन्ट औषधिको यो बिमारसँग कुनै साइनो नभएको बताइन् । इलेनलाई लागेको थियो, मोटो रकम खर्चिंदा उनी सुरक्षित हुनेछिन् । तर, उनले आर्थिकसँगै अरु अनेक पीडा झेल्नुपर्‍यो ।

उनी भन्छिन्, ‘मैले आफ्नो जिन्दगीको ऊर्जाशील समय गुमाएँ । मलाई थाहा छ, मान्छे मबाट अफसोच सुन्न चाहन्छन् । तर आज कसैले मलाई ‘के तिमीले सबै जोखिमबारे पहिल्यै जानेको भए पनि सर्जरी गर्थ्यौ’ भनेर सोध्यो भने मेरो जवाफ हुनेछ, ‘होइन, धेरैधेरै धन्यवाद ।’ (बीबीसीबाट टोम ब्राडाको रिपोर्टिङको भावानुवाद)  

प्रकाशित मिति : २०८१ भदौ २३ गते आइतबार