
सुर्खेत। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुर्खेत, जुम्ला र दाङस्थित टरिगाउँ विमानस्थल स्तरोन्नतिका लागि चालू आवमा कम्तीमा ६ अर्ब बजेट आवश्यक पर्ने जनाएको छ ।
मन्त्रालयको योजना तथा वैदेशिक सहायता शाखाले मन्त्रीस्तरीय निर्णयका आधारमा जुम्ला, सुर्खेत र टरिगाउँ विमानस्थल स्तरोन्नतिका लागि चालू आवमा ६ अर्ब २९ करोड बजेट सुनिश्चितता गर्न अर्थ मन्त्रालयलाई अनुरोध गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार यी तीन वटा विमानस्थल स्तरोन्नति गर्न १६ अर्ब रुपैयाँ बजेट आवश्यक भएपनि चालू आवका लागि भने ६ अर्ब २९ करोड रुपैयाँ माग गरिएको छ ।
संघीय सरकारले चालू आवको बजेटमा २१ करोड मात्र बजेट विनियोजन गरेको थियो । सरकारले जुम्ला र सुर्खेत विमानस्थलका लागि समान १०–१० करोड रुपैयाँ विनियोजन गरेको थियो । तर पर्यटन मन्त्रालयले उक्त बजेट निकै अपुग हुने भन्दै जुम्लाका लागि ४० करोड र सुर्खेत विमानस्थलका लागि ४ अर्ब ९० करोड रुपैयाँ बजेट माग गरेको छ । त्यस्तै दाङको टरिगाउँ विमानस्थल स्तरोन्नतिका लागि १ करोड विनियोजन गरिएकोमा ९९ करोडको स्रोत सुनिश्चित गर्न माग गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थललाई आवश्यक जग्गा अधिग्रहण गर्न थप बजेट माग गर्न मन्त्रालयसमक्ष सिफारिस गरेको थियो । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशका लागि सुर्खेत विमानस्थल विस्तार योजना अनिवार्य र पहिलो शर्तकै रुपमा स्थापित भएको बताए । संघीय सरकारलाई बजेटको व्यवस्थापनका लागि दबाब दिन सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई छ ।
प्रदेश राजधानीको विमानस्थल सानो र निकै साँघुरो हुँदा ठूला जहाज अवतरणमा ‘फोर्स ल्यान्डिङ’ गर्नुपर्ने बाध्यता छ । हाल सुर्खेतबाट कर्णाली प्रदेशका साथै सुदुरपश्चिमको बाजुरा र अछामका जिल्लाका यात्रुहरु संघीय राजधानी आउजाउ गर्न यो विमानस्थल प्रयोग गर्दै आएका छन् । ठूला जहाज र प्रदेशमा आन्तरिक हवाई सेवा सञ्चालनका लागि सुर्खेत विमानस्थललाई विस्तार गर्न लामो समयदेखि आवाज उठ्दै आएको छ । हाल सुर्खेतबाट माथिल्लो कर्णालीका सिमकोट बाहेकका विमानस्थलहरुमा उडान छैन् । यो विमानस्थलको धावनमार्ग एक हजार २५५ मिटर लम्बाई छ ।
यसको धावनमार्ग विस्तार गर्दा वीरेन्द्रनगर नगरपालिका वडा नं १०, ११ र १२ का करिब ५०० घरधुरी र एक विद्यालय प्रभावित हुनेछन् । उता, जुम्ला विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन निर्माणका लागि १८३ रोपनी जग्गा अधिग्रहणको प्रक्रिया अघि बढेको बताइएको छ । #rajdhani
प्रतिक्रिया दिनुहोस्