
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पक्षधरता भन्दा कार्य सम्पादनमा अब्बल भएर सेवा प्रवाह गर्न निर्देशन दिएका छन ।
प्रदेश सरकार अन्र्तगत खुल्ला प्रतिस्पर्धाबाट अधिकृत सातौँमा नियुक्त भएका अधिकृतहरुलाई आज आयोजित एक कार्यक्रममा मुख्यमन्त्री कँडेलले सेवा प्रवाहमा पक्षधरता भन्दा कार्यसम्पादनलाई प्रमुख ठानेर काम गर्न निर्देशन दिएका हुन् ।
समाजमा कर्मचारी र राजनीतिक नेतृत्वप्रति हेर्ने दृष्टिकोण सकारात्मक नभएको चर्चा गर्दै मुख्यमन्त्री कडेलले अब सबै तहका कर्मचारीहरुले समाजलाई सकारात्मक दृष्टिकोण बनाउने गरि काम थाल्नु पर्नेमा जोड दिए ।
उनले भने, ‘हिजोको जस्तो छैन, नागरिक सचेत भइसकेका छन, तपाईहरुको कामको मूल्याङकन नागरिकस्तरबाटै भइरहेको छ ।’
आफनो जिम्मेवारी बढेसँगै आडम्बर समाजलाई देखाउने नाममा गलत काम गरेर आर्थिक हैसियत बढाउने काममा नलाग्न मुख्यमन्त्री कडेलले कर्मचारीलाई निर्देशन दिए ।
उनले भने, ‘तपाईहरु नै भोलीको प्रदेश सचिव, प्रमुख सचिवको हकदार हो, इमान्दारिताले त्यो स्थानमा पुग्न सकिन्छ तर म अधिकृत भए भन्दै भनेर प्रचलित कानूनको विपरित गएर काम गर्नुभयो भने, तपाईहरुकै करियर समाप्त हुन्छ ।’
निजामती कर्मचारी समाजको पथपर्दशक पनि भएकोले सामाजिक रुपान्तरणमा कर्मचारीहरु महत्वपूर्ण योगदान दिन सक्ने मुख्यमन्त्री कँडेलले धारणा राखे । कर्मचारीले राम्रो काम गरेर देखाए त्यसले समाजमा सकारात्मक प्रभाव पार्ने र नागरिकलाई थितिमा हिडन बाध्य पार्ने उनको भनाइ थियो ।
सरकारका नीतिगत निर्णयमा राजनीतिक नेतृत्व जिम्मेवार भएपनि निर्णय कार्यान्वयन गर्ने प्रमुख दायित्व कर्मचारी संयन्त्रको भएकोले कर्मचारीको कार्यसम्पादनबाटै सरकारको उपलब्धी देखिने बताए ।









प्रतिक्रिया दिनुहोस्