
सुर्खेत । कर्णाली प्रदेशका स्वास्थ्य संस्थाहरुमा जनशक्तिको अभाव कायमै रहेको पाइएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले तयार पारेको रिपोर्ट अनुसार स्वास्थ्य सेवा ऐनमा गरिएको व्यवस्थाको कार्यान्वयनका लागि कर्णालीमा रहेको स्वास्थ्य जनशक्ति अपुग रहेको उल्लेख गरेको छ ।
अहिले प्रदेशमा स्वास्थ्यसँग सम्बन्धित स्थायी कर्मचारीको दरबन्दी जम्मा ९०९ जनाको रहेको छ । उक्त दरबन्दी मध्ये केवल ३२७ जना मात्र स्थायी दरबन्दी पूर्ति भएको मन्त्रालयले जनाएको छ ।
स्थायी दरबन्दी खाली रहेको स्थानमा करारको माध्यमबाट पूर्ति गरिएको छ । करार तथा अस्पताल विकास समितिबाट कर्मचारी भर्ना गर्दापपनि स्वास्थ्य संस्थाहरुले पुर्ण कर्मचारी पाउन सकेका छैनन् ।
मन्त्रालयको तथ्याङ्क अनुुसार करार र अस्पताल विकास समितिका तर्फबाट गरी ८१८ जना पूर्ति गरिएको छ । तर प्रदेशको स्वास्थ्य ऐनमा व्यवस्था भए अनुरूपको जनशक्ति छैन ।
कर्णाली प्रदेश स्वास्थ्य सेवा ऐन, ०७८ ले कर्णाली प्रदेशमा कम्तीमा एउटा वडामा एउटा स्वास्थ्य संस्था हुनुपर्ने व्यवस्था गरेको छ । मन्त्रालयका अनुसार प्रदेशमा स्वास्थ्य सेवा प्रवाह गर्ने संस्था जम्मा ८९२ वटा रहेका छन् । व्यवस्था अनुसार प्रदेशका कुनैपनि स्वास्थ्य संस्थाहरुले पुर्ण रुपमा दरबन्दी अनुसार जनशक्ति पाउन नसकेको प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताए ।
प्रदेशको सबैभन्दा ठुलो प्रदेश अस्पतालमै स्वीकृत दरबन्दी अनुसार जनशक्ति छैन । ३२५ दरबन्दी रहेको प्रदेश अस्पतालमा दरबन्दी अनुसार स्थायी कर्मचारीको संख्या जम्मा १६३ मात्रै छ ।
मन्त्री भण्डारीका अनुसार तोकिए बमोजिमका दरबन्दी पूर्ति नहुनका कारण
१.मानव स्रोत साधनको कमी तथा अति दुर्गम भएको कारणले धेरै कर्मचारी प्रदेश राजधानीमा नै बस्न चाहनु ।
२. तालिमप्राप्त जनशक्ति लामो समयसम्म विभिन्न कारण (जस्तै सरूवा, राजीनामा आदि) ले प्रदेशमा नरहनु ।
३. नयाँ अवसरको खोजीमा जनशक्ति पलायन हुनु ।
४. लोक सेवाआयोगले नयाँ दरबन्दी अनुरूप पदपूर्ति नगर्नु ।
५. जनशक्ति व्यवस्थापन गर्दा कर्मचारीको योग्यता, दक्षता अनुरूप नगरिनु ।
६. ऐनमा कर्मचारीको नियुक्ति प्रक्रियाबारे स्पष्ट नहुनु ।
७. दण्ड सजाय तथा पुरस्कारको उचित व्यवस्था नहुनु ।
८.कर्मचारीलाई के–कसरी व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा बढी अधिकार संघीय सरकारमा हुनु ।
९.कानून कार्यान्वयन गर्ने निकाय, अधिकार तथा पदाधिकारीले कानूनको पालना उपयुक्त तवरले नगर्नु ।









प्रतिक्रिया दिनुहोस्