युद्धविरामको बदलामा हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीकार



गाजामा ६ हप्ता युद्धविरामको बदलामा हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ। यो जानकारी एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले दिएको बीबीसीले जनाएको छ । इजरायलको योजनाले युद्ध अन्त्य गर्ने कुनै प्रतिबद्धता नदेखाएको उनको भनाइ छ ।

हमासका मुख्य मागहरू पनि यसमा समावेश नभएको उनले बताए ।  गाजामा इजरायलको सैन्य कारबाही जारी रहेका बेला हमासद्वारा बन्धक बनाइएका आधालाई रिहा गर्न भनिएको थियो ।

हालै, गाजाको खान युनिसमा रहेको एक फिल्ड अस्पतालमा हवाई आक्रमण भएको थियो । यसमा एक सुरक्षा गार्डको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।
यसैबीच, गाजामा इजरायलले गरेको आक्रमणपछि अमेरिकी–इजरायली बन्दीलाई नियन्त्रणमा राखिरहेका लडाकुहरूको एक समूहसँग आफ्नो सम्पर्क टुटेको हमासले बताएको छ । २१ वर्षीय सेना एडान अलेक्जान्डर हालैका दिनमा हामसले जारी गरेको एउटा भिडियोमा देखिएका थिए ।

४५ दिनको नयाँ युद्धविरामको प्रस्ताव गरेकै दिनमा इजरायलले उनलाई रिहा गर्न माग गरेको थियो । तर हमासले गएको हप्ता यो प्रस्ताव अस्वीकार गरेको हो ।
इजरायलले बारम्बार बन्दी राखेको ठानिएको ठाउँमा आक्रमण टार्न खोजेको दाबी गरिरहेको छ ।
२०२३ को आक्रमणमा हमासले २५१ जनालाई बन्धक बनाएको थियो । यीमध्ये ५९ जना अझै पनि हमासकै कब्जामा छन् । यीमध्ये २४ जनाको मृत्यु भइसकेको ठानिएको छ ।

प्रकाशित मिति : २०८२ वैशाख ३ गते बुधबार