नेपाल र अफगानिस्तानको खेल निर्णायक



काठमाडौँ —एसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपाल र अफगानिस्तानबीचको खेल निर्णायक हुने भएको छ । मूलपानीमा भइरहेको प्रतियोगितामा दुवै टोलीले लगातार तेस्रो विजय हात पारेपछि नेपाल र अफगानिस्तानबीच शनिबार हुने खेल निर्णायक बनेको हो ।
नेपाल यू–१९ ले बुधबार हङकङ यू–१९ माथि तल्लो मूलपानी क्रिकेट रंगशालामा ९ विकेटको सानदार विजय हात पार्‍यो । तल्लो मूलापानी क्रिकेट मैदानमा अफगानिस्तानले यूएईलाई १ सय ८० रनले पराजित गरेको थियो ।

नेपाल, ओमान, यूएई, अफगानिस्तान र हङकङ समावेश यो प्रतियोगिता राउन्ड रोबिनको आधारमा भइरहेको छ । विजेता टोली अर्को वर्ष जिम्बावे र नामिबियामा हुने आईसीसी यू–१९ विश्वकपमा पुग्नेछ । नेपालसँग यसअघि नै आठ पटक यू–१९ विश्वकप खेलेको अनुभव छ ।

युवराज खत्रीले लगातार दोस्रो खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि नेपालले हङकङसँगको खेल जित्न १ सय १६ रनको लक्ष्य पाएको थियो । नेपालले १२.३ ओभरमै १ सय १८ रन बनाएर जित हात पार्‍यो । नेपालको यो लगातार तेस्रो जित हो । पहिलो खेलमा यूएईलाई ५ रनले पराजित नेपालले दोस्रो खेलमा ओमानमाथि ८ विकेटको विजय पाएको थियो ।

अफगानिस्तानले पनि पहिलो दुई खेलमा विजय हात पारिसकेको थियो । हङकङ र ओमानविरुद्ध सजिलो विजय हात पारेको अफगानिस्तानले यूएईलाई बुधबार पन्छाउन खासै दुख गर्नुपरेन ।
नीरज यादव र साहिल पटेलले ६ ओभरभित्र ५५ रन जोड्दै नेपाललाई सानदार सुरुआत दिलाए । नीरज १२ बल खेल्दै ४ चौकासहित २३ रनमा आउट भए । साहिल ४१ बल खेलि ८ चौकासहित ४२ र कप्तान नरेन भट्ट २३ बलमा ८ चौकासहित ३९ रन बनाई अविजित रहे ।
यसअघि टस हारपछि ब्याटिङमा आएको हङकङ ४६.२ ओभर खेल्दै केवल १ सय १५ रनमा अलआउट भयो । यूएईविरुद्धको अघिल्लो खेलमा १७ रन खर्चेर ५ विकेट लिएका लेग स्पिनर युवराजले बुधबार पनि ४ विकेट लिएपछि हङकङको ब्याटिङ तहसनहस बन्यो । युवराजले १० ओभरमा १८ रनमात्र खर्चेका थिए । हङकङबाट सर्वाधिक ६३ रन बनाएका शिव माथुरलाई पनि युवराजले नै आउट गरे । शिवले १ सय १६ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।
ओपनर पन्जावनीले १३, वीर माथुरले १२ र ह्यारी थोमस हेडसनले १० रन बनाए । नेपाली टोलीमा एकमात्र परिवर्तनको रूपमा तीव्र गतिका बलर दयानन्द मण्डलको स्थानमा विपिन शर्मालाई खेलाइएको थियो । चार महिनाअघि सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा इमर्जिङ प्लेयरमा चुनिएका विपिनले प्रतियोगितामा पहिलो खेल खेल्नेक्रममा ३ विकेट लिए । उनले ६.२ ओभरमा २४ रन खर्चे ।
अभिषेक तिवारीसँग नयाँ बल लिएर आएका विपिनले आफ्नो पहिलो ओभरमै जुड ली थोमसलाई शून्यमा आउट गरी नेपाललाई उत्कृष्ट सुरुआत दिलाए । अर्का देव्रेहाते स्पिनर सन्तोष यादवले १० ओभरमा २० रन खर्चेर २ विकेट लिए । अशोक धामीको नाममा १ विकेट रह्यो ।

प्रकाशित मिति : २०८२ वैशाख ४ गते बिहीबार