
प्रतिनिधि सभा सदस्य माया राई ८ महिनादेखि संसदीय समितिको गतिविधिमा संलग्न छैनन् ।
पछिल्लो पटक उनी गत भदौको पहिलो साता प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा सहभागी भएकी थिइन् । त्यसयता उनी संसद् र संसदीय समितिको बैठकमा छैनन् ।
संघीय संसदको हिउँदे अधिवेशन अवधिभर उनी कतै सहभागी भइनन् ।
संसदीय समितिमा निरन्तर अनुपस्थित रहे तापनि सांसद राईको तलब भने रोकिएको छैन ।
प्रतिनिधिसभा नियमावलीले संसद् र संसदीय समितिमा रहेको अनुपस्थितलाई देखाएर तलब रोक्ने परिकल्पना नगरेको संसद सचिवालयका अधिकारीहरू बताउँछन् ।
सांसदको तलब सांसद पद निलम्बन भएको अवस्थामा रोकिन्छ । निलम्बन फुकुवा भए निलम्बन हुँदा रोकिएको तलब पाउँछन् ।
प्रतिनिधिसभा सदस्यले मासिक पारिश्रमिकका रूपमा ६६ हजार ७० रुपैयाँ पाउँछन् । मासिक विशेष भत्तावापत एक हजार रुपैयाँ, सञ्चार सुविधावापत तीन हजार रुपैयाँ र धारा, पानीको नाममा दुई हजार रुपैयाँ गरी मासिक एकमुष्ट ७२ हजार ७० रुपैयाँ पाउँछन् ।
यसका अलावा आवास सुविधाअन्तर्गत काठमाडौं उपत्यकामा घर नहुने सांसदले मासिक १८ हजार र काठमाडौं उपत्यकामा घर हुने सांसदले ९ हजार रुपैयाँ पाउँछन् ।
सांसदले समिति र सभाको बैठकमा उपस्थिति भएपछि बैठक भत्तावापत एक हजार रुपैयाँ र सभा तथा बैठकमा आवत–जावतका लागि भनेर थप एक हजार रुपैयाँ यातायात खर्च पाउँछन् । सांसदले स्वदेशभित्र कुनै भ्रमण गरे दैनिक भ्रमणभत्ता दुई हजार पाँच सय रुपैयाँ पाउँछन् । विदेश भ्रमण गर्नुपरेमा प्रतिदिन २ सय २५ डलर पाउँछन् ।
सांसदले उपचार खर्च पनि पाउँछन् । सरकारी अस्पतालमा उपचार गरे बिलअनुसारको सबै रकम पाउँछन् । निजी अस्पतालमा उपचार गरे बिलको आधा रकम पाउँछन् । यी लगायतका सेवा–सुविधा ८ महिनादेखि संसदीय गतिविधिमा नदेखिएकी सांसद राईले पनि निरन्तर पाइराखेकी छन् ।
प्रतिनिधि सभामा भूमिका खेल्दै गर्दा सांसद राईमाथि सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोप लागेको छ । यस्तो आरोप लागेपछि उनी फरार छिन् ।
सांसद राईलाई काठमाडौं कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको २ अर्ब ६५ करोड रकम हिनामिनामा संलग्न रहेकाे आरोप लागेको छ । उनी आर्थिक वर्ष २०७३/०७४ र आर्थिक वर्ष २०७४/०७५ देखि २०७५/०७६ सम्म उक्त सहकारीको सञ्चालक समितिमा थिइन् ।
सहकारीको रकम हिनामिनाका सम्बन्धमा प्रहरीले विभिन्न व्यक्तिविरुद्ध गत पुसमै जिल्ला अदालतमा मुद्दा लगेको थियो । प्रहरीको थप अनुसन्धान पनि चलिरहेको छ । सहकारीको रकम हिनामिनामा संलग्नमाथि अनुसन्धान सुरु भएदेखि सांसद राई सार्वजनिक कार्यक्रममा देखिएकी छैनन् ।
निरन्तरको अनुपस्थितिले प्रश्न
हिउँदे अधिवेशनमा प्रतिनिधि सभाका २७ वटा बैठक बसेका थिए । १८ माघ २०८१ देखि १९ चैत २०८१ सम्म चलेको अधिवेशनका कुनै पनि बैठकमा उपस्थित नभएकी सांसद राईको अनुपस्थितिको सूचना पनि सदनले पाएको छैन ।
प्रतिनिधि सभा नियमावलीअनुसार कुनै पनि सांसदले आफू १० भन्दा बढी बैठकमा अनुपस्थित रहने अवस्था भए सभामुखलाई अग्रिम जानकारी गराउनुपर्छ । काबु बाहिरको परिस्थिति रहे पछाडि पनि सूचना दिनसक्ने व्यवस्था अभ्यासमा छ ।
सांसदहरूको अनुपस्थितिको सूचना सदनले स्वीकृत गर्नुपर्छ । यस निम्ति सभामुखले अधिवेशनको अन्तिम दिन १० भन्दा बढी बैठकमा अनुपस्थित सांसदको कारणसहितको सूचना सदनमा प्रस्तुत गर्छन् । त्यसलाई सदनले स्वीकृत गर्नुपर्छ ।
गत चैत १९ गते प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेले १० भन्दा बढी बैठकमा अनुपस्थित रहेका सांसदको बिदा स्वीकृतिका लागि प्रस्तुत गरेका थिए । जसमा माया राईको सूचना समावेश थिएन ।
प्रस्तुत निवेदनलाई सदनले अनुमोदन गर्यो । सूचना नै नगएका कारण सदनमा राईको विषय प्रस्तुत नै भएन । अब उनको हकमा के हुन्छ भन्ने प्रश्न उब्जिएको छ ।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सांसद राईको अनुपस्थितिको सूचना पुगेको छ । अब उक्त सूचनाको प्रक्रियाको विषयमा के हुन्छ भन्ने विषयमा संघीय संसद सचिवालयका अधिकारीहरू अनौपचारिक संवादमा छन् ।
प्रतिनिधिसभा नियमावलीको नियम २१३ मा अस्वस्थ वा काबु बाहिरको परिस्थितिमा लगातार १० वटा बैठकमा अनुपस्थित रहनुपर्ने भए त्यसको सूचना सभामुखमार्फत सदनलाई दिनुपर्ने व्यवस्था छ ।
संविधानको धारा ८९(घ) मा सदनलाई सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित रहेमा सांसद पद रिक्त हुने व्यवस्था छ ।
सांसद राईले हिउँदे अधिवेशन अवधिभर उपस्थित हुन नसकेको सूचना दिइनन् । अधिवेशन सकिएपछि चैत २० गते कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेका स्वकीय सचिवले प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श शाखामा राईको अनुपस्थितिको निवेदन दिए । निवेदनमा स्वास्थ्य उपचारमा रहेकोले राई संसदको बैठकमा उपस्थित हुन नसकेको भनिएको छ । तर यो निवेदन सदनमा प्रस्तुत हुन सकेन ।
संसदको अधिवेशन यही वैशाख १२ गते बोलाइएको छ । अब बस्ने अधिवेशनको बैठकमा अघिल्लो अधिवेशनको अनुपस्थितिको सूचना सुनाउन मिल्छ कि मिल्दैन भनेर कतिपयले छलफल चलाएका छन् ।
संसद सचिवालयका प्रवक्ता गिरी अनुपस्थितिको सूचना अग्रिम दिनुपर्ने सम्बन्धित सांसदको दायित्व भएको बताउँछन् ।
‘कुनै पनि सांसदले अनुपस्थित रहने हुँदा अग्रिम सूचना दिनुपर्ने दायित्व स्वयंको हो,’ उनी भन्छन् ‘काबु बाहिरको परिस्थितिमा पछि पनि अनुपस्थितिको सूचना आउने गरेको अभ्यासमा देखिन्छ ।
अघिल्लो अधिवेशनमा अनुपस्थिति भएको सूचना पछिल्लो अधिवेशनमा स्वीकृतिका लागि सदनमा प्रस्तुत गर्न मिल्छ ?
प्रवक्ता गिरीको जवाफ छ, ‘छुटफुट भएको अवस्थामा अनुपस्थितिको सूचना आएपछि सभाको अनुमतिका लागि कति दिनभित्र पेस गर्नुपर्छ भन्ने पनि कतै स्पष्ट छैन ।’
को हुन् राई ?
माया राई जनजाति कोटाबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्य छिन् । पार्टी सभापति शेरबहादुर देउवा समूहमा रहेकी उनी समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य भएकी हुन् ।
उनलाई सत्ताको मुख्य घटक कांग्रेसकी सांसद भएकाले सहकारीको रकम हिनामिनाको आरोपबाट उन्मुक्ति दिन खोजिएको आशंका कतिपयको छ ।
४६ वर्षीय राई २०४९ सालदेखि राजनीतिमा छिन् । २०४९ सालमै उनी नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघको क्षेत्र नम्बर २ भोजपुरको कोषाध्यक्ष थिइन् । नेविसंघको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य र नेविसंघकै छात्रा विभाग प्रमुख हुँदै उनी २०६२ सालमा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि भइन् ।
जनआन्दोलन २०६२/०६३ मा सक्रिय भूमिका खेलेकी उनी नेपाली कांग्रेसको ११औं, १२औं, १३औं र १४औं महाधिवेशन प्रतिनिधि भइन् । महासमिति सदस्य हुँदै १४औं महाधिवेशनमा उनी जनजाति तर्फबाट केन्द्रीय सदस्य निर्वाचित भएकी हुन् ।
४ मंसिर २०७९ मा सम्पन्न प्रतिनिधि सभाको चुनावबाट उनी समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य चुनिएकी हुन् ।
तर, प्रतिनिधि सभामा आएर भूमिका खेल्दै गर्दा राईमाथि सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोप लागेको छ । यस्तो आरोप लागेपछि उनी फरार छिन् ।









प्रतिक्रिया दिनुहोस्