इरानको बन्दरगाहमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो



इरानको राजी बन्दरगाहमा शनिबार भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या ४६ पुगेको होर्मोजगन प्रान्तका सङ्कट व्यवस्थापन निर्देशक मेहरदाद हसनजादेहलाई उद्धृत गर्दै इरानी समाचार एजेन्सीले जनाएको छ ।

अधिकारीहरूले आगलागीमा एक हजार भन्दा बढी व्यक्तिहरू घाइते भएको बताएका छन् । हसनजादेहले अधिकाशं घाइतेहरु उपचार पछि फर्किइएको तथा १३८ जना घाइतेहरू अझै अस्पतालमा उपचाररत रहेको उल्लेख गरेका छन् ।

इरानको सरकारी टेलिभिजनले आगलागीको फुटेज देखाउदै आगो पूर्ण रूपमा नियन्त्रणमा आएपछि क्षतिको मूल्याङ्कन गरिने जनाएको छ । आगो निभाउनको लागि अग्निनियन्त्रण यन्त्र (दम्कल) तथा हेलिकप्टर परिचालन गरि रहेको टेलिभिजन फुटेजकमा देखाइएको छ ।

बन्दरगाहस्थित भन्सार कार्यालयले विस्फोटको स्पष्ट कारण एकिन नभएता पनि रासायनिक सामग्री भण्डारण डिपोमा आगलागी भएको हुनसक्ने जनाएको छ । इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले घटनाको अनुसन्धान गर्न आदेश दिएका छन् ।

सामाजिक सञ्जाल तथा सिसिटिभीमा देखाइएको भिडियोमा सानो आगो धुवाँको साथ घटना बिस्तारै सुरु भएको देखाइएको छ । गोदामको छेउमा केही कन्टेनरहरू बिचबाट सुरु भएको सानो आगोले ठुलो रुप लिएको देखाइएको छ ।

राष्ट्रपति मसूद पेजेस्कियनले अब्बासमा घाइतेहरूलाई भेट्न अस्पतालमै पुगेको जनाइएको छ । अधिकारीहरूले यस क्षेत्रका सबै विद्यालय तथा कार्यालयहरू बन्द गर्न आदेश दिएका छन् भने बासिन्दाहरूलाई ‘अर्को सूचना नभएसम्म’ सुरक्षित रहन आग्रह गरिएको छ ।

रक्षा मन्त्रालयका प्रवक्ता रेजा तलाई–निकले यस क्षेत्रमा सैन्य इन्धन वा सैन्य प्रयोगका लागि कुनै आयात र निर्यात नगरिएको बताएका छन् । रूसले आगो नियन्त्रणको लागि सहयोग गर्न विशेषज्ञहरू पठाएको छ ।

अधिकारीहरूले सोमबार राष्ट्रिय शोकको घोषणा गरेका छन् भने बन्दरगाहको होर्मोजगन प्रान्तमा आइतबार देखि नै तीन दिनको शोक सुरु भएको छ । तेहरानमा आयोजित उच्चस्तरीय वार्ताका लागि ओमानमा इरानी र अमेरिकी प्रतिनिधिहरू भेटवार्ता गर्दै गर्दा विस्फोट भएको थियो ।

 

प्रकाशित मिति : २०८२ वैशाख १५ गते सोमबार